काठमाडौं- पिएसजी पहिलो च्याम्पियन्स लिग उपाधिका लागि नजिक पुगेको छ। पहिलो पटक फाइनल पुग्ने क्रममा पिएसजीले मंगलबार राति भएको सेमिफाइनल खेलमा लाइपजिगलाई ३–० ले हराएको हो। खेलमा डि मारियाले दुई असिस्ट र एक गोल गरे।
खेलको १३औँ मिनेटमा माक्विनहसको गोलमा अग्रता बनाएको पिएसजीका लागि ४२औँ मिनेटमा एन्जेल डि मारियाले गोल गरे। ५६औँ मिनेटमा बेर्नटले गोल गर्दै तेस्रो अग्रता दिलाए। त्यसपछि खेलमा गोल हुन सकेन।
अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डोर्टमुन्डसँग २–१ ले हार्दा पिएसजीको निकै आलोचना भएको थियो। तर दोस्रो लेगको खेलमा २–० ले जित्दै पिएसजी खेलमा फर्कियो। जसमा नेमार र बेर्नाटले गोल गरेका थिए।
त्यस्तै अवस्था क्वाटरफाइनलमा पनि देखियो। एटलान्टासँग पहिलो हाफमा १–० ले पछि परेको पिएसजीले अन्तिम समयमा दुई गोल गर्दै सेमिफाइनल पक्का गरेको थियो। जहाँ माक्विनहस र मोटिङले गोल गरेका थिए। त्यसअघि समूह चरणको खेलमा पिएसजीको लय अझ उत्कृष्ट देखिएको थियो।
अब फाइनलमा पिएसजीले बायर्न म्युनिक र लायोनको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल बुधबार राति हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।