काठमाडौं- च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत पहिलो खेलमा मंगलबार राति पौने १ बजे फ्रेन्च क्लब पिएसजी र जर्मन क्लब आर बि लाइपजिग खेल्दैछन्। जुन दुई क्लबबीच अहिलेसम्मकै पहिलो भेट हो।
पिएसजी यसपटक पहिलो च्याम्पियन्स लिग उपाधिका लागि नजिक पुगेको छ। अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डोर्टमुन्डसँग २-१ ले हार्दा पिएसजीको निकै आलोचना भएको थियो। तर दोस्रो लेगको खेलमा २-० ले जित्दै पिएसजी खेलमा फर्कियो। जसमा नेमार र बेर्नाटले गोल गरेका थिए।
त्यस्तै अवस्था क्वाटरफाइनलमा पनि देखियो। एटलान्टासँग पहिलो हाफमा १-० ले पछि परेको पिएसजीले अन्तिम समयमा दुई गोल गर्दै सेमिफाइनल पक्का गरेको थियो। जहाँ माक्विनहस र मोटिङले गोल गरेका थिए। त्यसअघि समूह चरणको खेलमा पिएसजीको लय अझ उत्कृष्ट देखिएको थियो।
लाइजिगविरुद्ध खेल्न केलियन एमबाप्पे पूर्ण रुपमा फिट रहेको प्रशिक्षक थोमस टचेलले बताएका छन्। गएको खेलमा बेन्चबाट मैदान बसेका एमबाप्पे आजको खेलमा सुरुवातमा नै खेल्ने सम्भावना बढी छ। जसले नेमारसँग अट्याकमा राम्रो तालमेल मिल्नेछ।
यस्तै लाइपजिग यो सिजन फरक क्लबका रुपमा देखिइरहेको छ। युवा प्रशिक्षक र युवा खेलाडीको मनोबल उच्च देखिन्छ। च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा लाइपजिगले त्यति सहज रुपमा टोटनह्यामलाई हराउँछ भन्ने अनुमान सायदै कसैले गरेका थिए।

गएको सिजन फाइनल खेलेको टोटनह्यामलाई लाइपजिगले पहिलो लेगमा १-० ले र दोस्रो लेगमा ३-० ले हराएर चकित बनायो। त्यस्तै क्वाटरफाइनलमा एथ्लेटिको मड्रिडलाई २-१ ले हराउँदा पनि लाइपजिग लयमा देखिएको थियो।
जसमा लाइपजिगका प्रशिक्षक जुलियन नागेल्समान टिमलाई च्याम्पियन्स लिग सेमिफाइनलमा लैजाने सबैभन्दा कान्छा प्रशिक्षक बने। जसले टिममा हारको डरभन्दा प्राप्तिको चाहना बढी छ।
पिएसजी
युइएफएमा स्थान- सातौँ
यो सिजनको अवस्था- खेल ९, जित ७, बराबरी १, हार १, गरेको गोल २२, खाएको गोल ५
अन्तिम १६ को खेलमा- बोरुसिया डोर्टमुन्डलाई ३-२ ले हराएको
क्वाटरफाइनल खेलमा- एटलान्टालाई २-१ ले हराएको
धेरै गोल गर्ने- माउरो इकार्डी र केलियन एमबाप्पे, पाँच गोल
गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको
युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (१९९४-९५ को सिजन)

लाइपजिग
युइएफएमा स्थान- ३२औँ
यो सिजनको अवस्था- खेल ९, जित ६, बराबरी २, हार १, गरेको गोल १७, खाएको गोल ९
अन्तिम १६ को खेलमा- टोटनह्यामलाई ४-० ले हराएको
क्वाटरफाइनल खेलमा- एथ्लेटिको मड्रिडलाई २-१ ले हराएको
धेरै गोल गर्ने- टिमो वेर्नर र मार्सेल साबिटजर, चार गोल
गएको सिजन- युरोपा लिगमा समूह चरण
युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (यही सिजन)
के भन्छन् प्रशिक्षक?
जुलियन नागेल्समान- लाइपजिग
कोरोनाका कारण रोकिएर सुरु भएपछिको फुटबलमा हामीले सोचेजस्तो खेल्न सकिरहेका छौँ। खेलाडीहरुमा जितको भोक देखिन्छ। सबैले निकै राम्रो गरिरहेका छन्। हामी अब एक पाइला अघि बढ्न तयार छौँ। नेमार र एमबाप्पेलाई हामीले रोक्नुपर्छ। दुवै टिम अट्याक मन पराउने टिम भएकाले खेल रोचक हुनेछ।
थोमस टचेल- पिएसजी
हामी यहाँ छौँ किनभने हामी यसका लागि लायक छौँ। हामीले यो सिजन निकै मेहनत गरेर राम्रो खेलिरहेका छौँ। विगत के भयो भनेर कुरा गर्नेभन्दा पनि हामी अगाडिको बाटो हेरिरहेका छौँ। हामी जितका लागि लालायित छौँ। लाइपजिग तीब्र फुटबल खेल्ने टिम हो। हामीसँग हाम्रो तरिका छ उनीहरुसँग उनीहरुको।
सम्भावित सुरुवाती ११
पिएसजी- रिको, केहेरर, सिल्भा, किमपेम्बे, बर्नाट, डि मारिया, माक्विनहस, पेरेडेस, नेमार, एमबाप्पे र इकार्डी।
लाइपजिग- ग्ललोची, क्लोस्टरम्यान, उपामाकानो, हाल्स्टनबर्ग, लेमर, कम्पल, साबिटजर, एन्जेलिनो, ओल्मो, पोलसेन र एन्कान्कु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।