काठमाडौं-गत वर्षको तुलनामा यस वर्ष ५४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान राेपाइँ भएको छ। कृषि विभागका अनुसार देशभर कुल १३ लाख ७१ हजार ७ सय हेक्टरमा धानबाली लगाईने गरिएकाेमा गतवर्ष १२ लाख ९५ हजार ३ सय हेक्टरमा रोपाइँ भएको थियो। तर यसवर्ष भने बढेर १३ लाख ४९ हजार ४ सय हेक्टरमा रोपाइँ सकिइसकेको विभागले जनाएको छ।
विभागका अनुसार भदौ १ गतेसम्ममा ९८ दशमलव ३८ प्रतिशत रोपाईं सकिएको छ। गत वर्ष यहि अवधि सम्ममा ९४ दशमलव ४३ प्रशित मात्रै रोपाईं सकिएको थियो।
यो अवधिसम्ममा गण्डकी प्रदेशमा शतप्रतिशत रोपाईं सकिएको छ। प्रदेश १ मा भने सबैभन्दा कम ९५ दशमलव ८८ प्रतिशतमात्रै रोपाइँ सकिएको छ। प्रदेश २ मा ९९ दशमलव २, प्रदेश ३ मा ९७ दशमलव ८५, प्रदेश ५ मा ९८ दशमलव ६६, कर्णालीमा ९८ दशमलव ५३ र सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ८६ प्रतिशत रोपाइँ सकिएको छ।
भौगोलिक रुपमा हेर्दा उच्च पहाडी क्षेत्रमा ९८ दशमलव ५५, मध्यपहाडी क्षेत्रमा ९७ दशमलव ९४ र तराई क्षेत्रमा ९८ दशमलव ५२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।