काठमाडौं-अर्थ मन्त्रालयले अन्त:शुल्क इजाजत नवीकरणको म्याद दुई महिना थप गरेको छ। अन्त:शुल्क ऐन २०५८ को व्यवस्थाअनुसार साउनभित्र गर्नुपर्ने इजाजत नवीकरणको समय असोज मसान्तसम्म थपिएको हाे।
'अन्त:शुल्क ऐन २०५८ को दफा ९ को उपदफा ५ बमोजिम अन्त:शुल्क इजाजतपत्र हरेक वर्ष श्रावण महिनाभित्र नवीकरण गरिसक्नु पर्ने व्यवस्था रहेकोमा हाल कोभिड-१९ का कारण सिर्जित असहज परिस्थितमा उक्त अवधि २०७७ असोज मसान्तसम्म थप गरिएको छ,' विभागले भनेको छ।
आन्तरिक राजस्व विभागका निर्देशक दुर्गादत्त भण्डारीले अन्त:शुल्क लाग्ने वस्तुको थोक तथा खुद्रा कारोबार गर्ने व्यवसायीलाई धेरै समस्या आउने अवस्था आएकाले इजाजत नवीकरण गर्ने समयावधि थपिएको बताए।
'उद्योगी र आयातकर्ताको संख्या थोरै छ र उनीहरूलाई नवीकरण गर्न पनि समस्या हुँदैन,' उनले भने, 'मदिरालगायतका वस्तुको खुद्रा कारोबार गर्नेको संख्या धेरै भएकाले उनीहरूलाई समस्या पर्न सक्ने भएकाले समय बढाउनु परेको हो।'
अन्त:शुल्कको इजाजत कर आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट नवीकरण गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।