काठमाडौं- कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै नेपाल अटोमेकानिक्स संघले वर्कसप बन्द गर्ने निर्णय गरेको छ। संघले आफूसँग आवद्ध सबै वर्कसपहरु १५ दिन बन्द गर्ने निर्णय गरेको हो। उपत्यकालगायत देशभर पछिल्ला दिनमा कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलन थालेसँगै वर्कसपहरु बन्द गर्न लागिएको संघले जनाएको छ।
उपत्यकामा नै दैनिक ठूलो संख्यामा संक्रमितहरु देखिन थालेकाले आगामी भदौ १५ गतेसम्मका लागि सम्पूर्ण वर्कसपहरु बन्द गर्न लागिएको संघको भनाइ छ। संघले सोमबारदेखि नै आफूमातहतका वर्कशप बन्द गरेको हो।
सघंले १५ गतेसम्म आफ्नो वर्कसप संचालन नगर्ने र अत्यावश्यक सवारी साधनहरु मर्मत भने जारी राख्ने निर्णय गरेको छ। अत्यावश्यक सवारीसाधनको मर्मत गर्नुपरेमा वर्कशपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न सदस्यहरूलाई आग्रह गरेको छ।
सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै फैलिएको संक्रमणको कारण उपत्यकामा जोखिम बढेको भन्दै धेरै व्यवसायहरु केही समयको लागि बन्द हुन थालेका छन्। सरकारले गएको असार १ देखि लकडाउन खुकुलो बनाउँदै लगेसँगै वर्कसपहरू खुल्न थालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।