काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ मा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। संक्रमितको संख्या बढ्दै गएपनि वडाका अनामनगर, घट्टेकुलो, डिल्लीबजार, पुतलीसडकलगायतका क्षेत्रमा भिडभाड कम भएको छैन।
वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल कार्यालयमा आवश्यक जनशक्ति नहुँदा फुटपाथ हटाउन र भिडभाड कम गर्न नसकेको बताउँछन्। ‘हामीले वडामा सञ्चालन हुने सैलुन, ब्युटीपार्लर, भिडभाड हुने होटल, अत्यावश्यक बाहेकका पसल बन्द गर्न भनेका छौँ। तर कतिपय ठाउँमा खुल्लै पनि छन्,’ अध्यक्ष ढकालले भने, ‘ठेलागाढा व्यापार तथा फुटपाथमा व्यापार नगर्न निर्देशन दिएपनि भिडभाड कम गर्न सकिएको छैन।’
फुटपाथ एकपटक हटाएपनि केही बेरमै फेरि बजार लागिहाल्ने समस्याले आफूहरुलाई हैरानी बनाएको उनले बताए। अध्यक्ष ढकाल भन्छन्, ‘हामीसँग त्यत्रो ठूलो शक्ति पनि छैन। सरकारबाट केही सहयोग छैन। एक पटक हटायो। फेरि उस्तै बजार लागिहाल्छ। नागरिक नै सचेत नभएपछि के गर्नु? यसले झन् जोखिम बढ्दै गएको छ।’
२६ जनामा कोरोना संक्रमण
२ सय ७१ जनामा पिसिआर परीक्षण गर्दा वडाभरमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको वडा कार्यालयले जनाएको छ। सबैभन्दा बढी कोरोना संक्रमित घट्टेकुलो क्षेत्रमा देखिएका छन्। त्यस्तै अनामनगरमा समेत कोरोना देखिएको छ।
कोरोना संक्रमितहरु अधिकांश व्यापारी, स्वास्थ्यकर्मी, तथा मजदूरहरु छन्।
सुरुको अवस्थामा केही भारतीय तथा बाहिरबाट आएकाहरुमा कोरोना देखिएको भएपनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएकाहरुमा समेत कोरोना देखिन थालेको छ।
बाहिरबाट आएकाहरुबाट कोरोना समुदायमा फैलिएकाले घरबाट बाहिर ननिस्किएकाहरूमा समेत कोरोना देखिन थालेको अध्यक्ष ढकालले बताए।
होम आइसोलेसनमा संक्रमित
उपत्यकामा कोरोनाको उपचार गराइरहेका अस्पतालका बेड भरिन थालेका छन्। अस्पतालमा ठाउँ नहुँदा अधिकांश कोरोना संक्रमितलाई होम आइसोलेसनमा राखिएको वडा कार्यालयले जनाएको छ।
‘सबै अस्पतालले कोरोना संक्रमितलाई भर्ना गर्न मान्दैनन्। कोरोनाको उपचार गरिरहेका अस्पतालको बेड भरिएको छ। जसले गर्दा अधिकांश बिरामी होम आइसोलेसनमा राखिएको छ,’ अध्यक्ष कुश ढकालले भने।
कोरोना नियन्त्रणका लागि वडासँग आफ्नै स्रोत नभएको र केन्द्र सरकारबाट केही सहयोग प्राप्त नभएकाले आवश्यक काम गर्न नसकिएको कार्यालयले जनाएको छ।
‘कोरोना नियन्त्रणका लागि सरकारले नै केही काम गर्न सकेको छैन। वडाले कसरी गर्ने?’ अध्यक्ष ढकालले भने, ‘सकेसम्म त गरिरहेका छौँ।’ वडामा कोरोना परीक्षणको दायरा बढाउन नसकिएकाले त्यसका लागि पहल भइरहेको बताइएको छ।
संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजीका लागि भने महानगरपालिकाले सहयोगमा काम भइरहेको कार्यालयले जनाएको छ।
तस्बिर : मकालु खबर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।