काठमाडौं- बेल्जियमका डिफेन्डर तथा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका पूर्वकप्तान भिन्सेन्ट कोम्पनीले फुटबलबाट सन्यास लिएका छन्।
३४ वर्षीय कोम्पनीले सोमबार आफ्नो खेलाडी जीवनबाट बिदा लिएको घोषणा गरेका हुन्। कोम्पनीले आफ्नो व्यवसायिक फुटबल करिअर एन्डरलेच्टबाट सुरुवात गरेर एन्डरलेच्टमै अन्त्य गरेका छन्।
सन् २००३ मा एन्डरलेच्टबाट आफ्नो फुटबल करिअर थालेका उनले जर्मन क्लब हामबुर्गर एभीमा दुई वर्ष बिताए। त्यसपछि सन् २००८ देखि २०१९ सम्म ११ वर्ष इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा बिताए। यो अवधिमा उनले सिटीलाई चार पटक प्रिमियर लिगको उपाधि दिलाए। त्यस्तै, दुई पटक एफए कप, चार पटक लिग कप र दुई पटक कम्युनिटी शिल्डको उपाधि सिटीलाई दिलाएका छन्।
सन् २०१९ मा सिटीबाट बिदाइ भएका उनी एन्डरलेच्टमा खेलाडीसँगै प्रशिक्षकको रुपमा गएका थिए। अहिले एन्डरलेच्टको मुख्य पशिक्षक भएसँगै उनले खेलाडी जीवनबाट सन्यास लिएका हुन्।
‘प्रशिक्षकमा रुपमा नै म आफूलाई अझ अघि बढाउन चाहन्छु। हामी आधुनिक फुटबलमा राम्ररी बढ्न सक्छौँ भनेर प्रमाणित गर्नुपर्नेछ। उपाधिसहित’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।