काठमाडौं- स्पेनिस क्लब सेभिया कीर्तिमानी र्छैटौँ पटक युरोपा लिगको फाइनल पुगेको छ। सेभियाले सेमिफाइनलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
शनिबार राति जर्मनीमा भएको युरोपा लिगको पहिलो सेमिफाइनलमा सेभियाले म्यानचेस्टर युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गर्न सफल भयो। युनाइटेडले पेनाल्टीमार्फत सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिन पुग्यो। पेनाल्टी एरियामा मार्कस राष्फोर्डलाई सेभियाका डिएगो कार्लोसले फोउल गरेपछि म्यान्चेस्टर युनाइटेडले पेनाल्टी पाएको थियो। खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए।
खेलको २६औं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई पहिलो हाफसम्म १–१ गोलको बराबरी दिलाए। खेलको ७८औं मिनेटमा लुक डि जोङले गोल गर्दै सेभियालाई २–१ गोलको जित दिलाए।
यो जितसँगै सेभिया छैटौं पटक युरोपा लिगको फाइनलमा पुगेको छ। सेभियाले अहिलेसम्म पाँच पटक युरोपा लिगको उपाधि जितेको छ। सन् २००६ मा पहिलो पटक उपाधि जितेको सेभियाले २००७ मा पनि युरोपा लिगको उपाधि जितेको थियो। २०१४, २०१५ र २०१६ मा गरी लागातार तीन पटक उपाधि जितेको सेभिया यो पटक पनि उपाधि जित्ने लक्ष्यमा छ।
जितपछि सेभियाका मुख्य प्रशिक्षक जुलेन लोपेटेगीले आफूलाई गौरव लागेको बताएका छन्। उनले भनेका छन्, ‘यो टिमको संयुक्त प्रयास थियो। जितको लागि एकता चाहिन्छ। त्यो आजको रातमा हामीले गर्यौं। मेरो टिमप्रति गर्व छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।