काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक क्विके सेटियनलाई बर्खास्त गर्दै उनको स्थानमा नेरल्याण्ड्सका प्रशिक्षक रोनाल्डा कोम्यान ल्याउने तयारी गरिरहेको स्पेनिस सञ्चार माध्यमले उल्लेख गरेका छन्।
यो सिजन ला लिगाको उपाधि गुमाएको बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलमा पनि बायर्न म्युनिकसँग ८–२ को लज्जास्पद हार भोगेको थियो। जसलगत्तै प्रशिक्षक सेटियनको बर्खास्तको हल्लाहरु आइरहे पनि यकिन निर्णय भने भएको छैन। सेटियनको स्थानमा कसलाई ल्याउने भन्ने छलफल चलिरहँदा उनलाई हटाउन ढिलाइ भएको हो।
सेटियन सिजनको बीचमा जनवरीमा प्रशिक्षक एर्नेस्टो भालभर्देको स्थानमा बार्सिलोना प्रशिक्षक बनेका थिए। बार्सिलोनाको पुरानो खेलशैलीसँग जानकार मानिएका सेटियनले आफ्नो भूमिका राम्ररी देखाउन सकेनन्।
स्पेनिस रेडियो स्टेशन क्याडेन कोपले आफूहरुले बार्सिलोना अध्यक्ष जोसेप बर्टामेउसँग कुराकानी गरेको र सोमबार प्रशिक्षक सेटियनलाई बर्खास्त गर्ने तयारी रहेको उल्लेख गरेको छ।
बार्सिलोनाले प्रशिक्षकका लागि इंग्लिस क्लब टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनो र नेदरल्याण्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानसँग कुराकानी गरिरहेको बताइन्छ। जसमा बार्सिलोनाका पूर्वखेलाडी कोम्यानको सम्भावना बढि रहेको खबरहरु छन्।
आउँदो दुई हप्तामा नयाँ सिजनका लागि बार्सिलोनाले तयारी सुरु गर्नुपर्नेछ। त्यसअगावै नयाँ प्रशिक्षक ल्याएर खेलाडीको मनोबल बढाउने योजना देखिन्छ। कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेको हल्लाहरु चलिरहँदा त्यसलाई चिर्नका लागि पनि नयाँ प्रशिक्षकको खाँचो बढेको छ।
बार्सिलोनाका पूर्वखेलाडी जाभीलाई प्रशिक्षकका रुपमा ल्याउन समर्थकहरुले दबाब दिइरहेका छन्। कतारी क्लब अल सादका प्रशिक्षक रहेका जाभी बार्सिलोनाको वर्तमान व्यवस्थापनमा आफू प्रशिक्षकका रुपमा आउन आनाकानी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।