काठमाडौं-सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा गएको पहिरोमा पुरिएका २२ जनाको शव निकालिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले पहिरो पन्छाउँदै सोमबार थप तीन शव निकालेका छन्। शुक्रबार ११, शनिबार सात र आइतबार एक शव निकालिएको थियो।
पहिरोमा बेपत्ता ३९ जनामध्ये १७ जनाको अझै खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्।
‘पहिरोले पुरिएका घरबाट सुरक्षाकर्मी र स्थानीयको अहोरात्र प्रयासले शव निकालिएको हो,’ तामाङ्गले भनिन्,‘ उद्धारसँगै राहत र उनीहरुको पुनस्र्थापनाको पनि प्रयास गाउँपालिकाले गरिरहेको छ।’
आइतबार र सोमबार फेला परेको शवको पहिचान पनि भएको छ। उद्धारमा खटिएका उद्धारकर्मीका अनुसार फेला परेका मृतकमा १२ वर्षीय हिन्तोष दोङ, ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुमन दोङ र २२ वर्षका अजय दोङ रहेका छन्। पहिरोले गहिरो गरी किचेका घरबाट शव निकाल्न घरेलु हतियारले सम्भव नभएपछि एस्काभेटर ल्याउने तयारी भइरहेको उनले बताइन्। सरकारी निकाय र विभिन्न संघसंस्थाबाट राहत आइरहे पनि सडकमार्ग नभएकाले हेलिकोप्टर प्रयोग महंगो र अपर्याप्त भएको उनले बताइन्।
‘यहाँ कुनै सडकमार्ग छैन, हेलिकप्टरमा ल्याउँदै धेरै महंगो भइरहेको छ,’ उनले भनिन्।
यसैबीच जुगल गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका २२ र बेपत्ता १७ जनाको घरपरिवारलाई किरिया खर्च र तत्काल राहतका लागि जनही एक लाख २५ हजारका दरले वितरण गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। तत्कालीन राहतस्वरुप पीडितलाई केही रकम दिइएको उनले बताए। सरकारले पनि मृतकका परिवारलाई जनही २ लाख दिने घोषणा गरेको छ। उनीहरुको स्थानान्तरणका लागि पहलसमेत सुरु भएको अध्यक्ष श्रेष्ठले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।