काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ।
आइतबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकाले उनीहरुलाई पुनर्स्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
यसैबीच उनले २०७१ साउन १७ गते गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे चासो राखेका थिए।
गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र विस्थापितको पुनर्स्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने जानकारी दिएका छन्।
साथै, गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यही साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परेका ३९ जनामध्ये आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।