काठमाडौं-सिजनमै कोकाकोलालगायतका पेय पदार्थ बिक्री नभएपछि बोटलर्स नेपालका दुवै कम्पनी नोक्सानमा देखिएका छन्। गत आर्थिक वर्षमा बोटलर्स नेपाल बालाजु ४ करोड ६२लाख रुपैयाँ नोक्सानमा देखिएको हो। त्यस्तै बोटलर्स नेपाल तराईले पनि एक करोड तीन लाख रुपैयाँ नोक्सान बेहोरेको छ।
गत आर्थिक वर्षको अन्तिम चार महिनामा बालाजु ७ करोड १४ लाख रुपैयाँ नोक्सानमा देखिएको छ। त्यस्तै तराईले ४ करोड २९ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ। गत वर्षको छ महिनाको नाफाले कम्पनीलाई ठूलो नोक्सान हुनबाट बचाएको छ।
गएका वर्षमा आकार्षक लाभांस दिने दुवै कम्पनी यस वर्ष लाभांस नै दिन नसक्ने अवस्थामा पुगेका हुन्। नोक्सानमा रहेको तराईको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ऋणात्मक छ। जबकि अघिल्लो आर्थिक वर्षमा ३७५ रुपैयाँ थियो। त्यस्तै बालाजुको प्रतिशेयर आम्दानी २३ रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ३५८ रुपैयाँ थियो।
पेय पदार्थ बिक्री गरेर अघिल्लो वर्ष बालाजुले ९ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको थियो। तर लकडाउनका कारण गत वर्ष ६ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ। त्यस्तै तराईले अघिल्लो वर्ष पेय पदार्थ बिक्री गरेर ५ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेकोमा गत वर्ष चार अर्ब ६० करोड रुपैयाँमा झरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।