काठमाडौं– च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई हराउँदै फ्रेन्च क्लब लियोन सेमिफाइनलमा प्रवेश गरेको छ। योसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पनि पूरा भएको छ।
शनिबार राति भएको खेलमा लियोनले सिटीलाई ३–१ गोलअन्तरले हराएको हो। अब सेमिफाइनलमा लियोनले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जर्मन क्लब आरबी लाइपजिगसँग फाइनल प्रतिस्पर्धाको लागि खेल्नेछ। चर्चित लिग ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरि ए फुटबल क्लबहरु च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिँदा जर्मनीका दुई र फ्रान्सका दुई क्लब सेमिफाइनलमा पुगेका हुन्।
लियोनको जितमा मौसा डेम्बेलेले दुई गोल गर्दा म्याक्सवेल कर्नेटले एक गोल थपे। यता, सिटीका केविन डे ब्रुयनले गोल फर्काएका थिए।
खेलको २४औं मिनेटमा म्याक्सवेलले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अघि रहेको लियोनले दोस्रो हाफमा सिटीविरुद्ध दुई गोल थप्दा एक गोल खान पुग्यो। ब्रुयनले खेलको ६९औं मिनेटमा गोल गर्दै सिटीलाई १–१ गोलको बराबरी दिलाए। तर खेलको ७९औं र ८७औं मिनेटमा गोल गर्दै लियोनलाई ३–१ गोलको जित दिलाए।
पहिलो सेमिफाइनलमा अब पिएसजीले मंगलबार राति लाइपजिगसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, बायर्नले बुधबार राति लियोनसँग खेल्नेछ। पिएसजीले क्वाटरफाइनलमा एटलान्टालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
त्यस्तै, क्वाटरफाइनलमा लाइपजिगले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दा बायर्नले बार्सिलोनालाई ८–२ गोलले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।