सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। पहिरोले सिंगो बस्ती पुरेकोले अझै २२ जना हराइरहेका छन्। बस्तीभन्दा करिब ४ सय मिटर माथिबाट शुक्रबार बिहान आएको पहिरोमा परी उनीहरु बेपत्ता भएका हुन्।
शुक्रबार नै ११ जनाको शव निकालिएको थियो भने शनिबार बिहानैदेखि खटिएका उद्धारकर्मीले थप पाँच जनाको शव निकालेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बेपत्ताको स्थानीय, प्रहरी र सेनाकाे टाेलीले खोजी तथा उद्धार जारी राखेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
पहिरोमा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। घाइतेकाे चौतारा अस्पतालमा उपचार भइरहेकाे छ। एक घाइतेको काठमाडाैंकाे सिभिल अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयवासीले आफ्नो गाउँलाई कुनै पनि दिन पहिरोले पुर्न सक्ने सम्भावित जानकारी सम्बद्ध निकायहरुमा पटकपटक गराएका थिए। तर, सरोकारवालाले चासो नदिएकै कारण ठूलो मानवीय क्षति भएको हाे।
स्थानीयवासीले आफ्नो गाउँ जोखिममा रहेकाले अध्ययन गरी आवश्यक परे स्थानान्तरण गरिदिन स्थानीय प्रशासनसामु अनुरोध गरेका थिए। तर, स्थानीय प्रशासनले पाल दिएर टारेको थियो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी उद्धारमा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।