धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विश्वविद्यालय बनाउन अध्ययन कार्यदल गठन भएको छ। शुक्रबार काठमाडौंमा भएको प्रतिष्ठानको ४४औं सिनेट बैठकले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको नेतृत्वमा ९ सदस्यीय अध्ययन कार्यदल बनाएको हो। कार्यदलको सदस्यसचिवमा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी छन् भने सदस्यहरुमा प्रा डा उपेन्द्र कोइराला, प्रा डा मधुर भट्टराईलगायत रहेका छन्।
कार्यदलले चार महिनाभित्र सम्भाव्यता प्रतिवेदन पेस गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार प्रा डा रेग्मीले बताए। ‘विश्वविद्यालय बन्यो भने हामी धेरै अपग्रेट हुनेछौं। सबै कुरामा पारदर्शिता हुन्छ,’ उनले भने।
काठमाडौंमा प्रतिष्ठानका सहकुलपति तथा सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्व विद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास भएको छ। विश्वविद्यालय रुपान्तरणका लागि आवश्यक पहल, नीति निर्माणका लागि उपकुलपतिको संयोजकत्वमा छुट्टै कार्यदल बनाइएको छ। प्रतिष्ठान विश्वविद्यालय बनेमा नेपालकै पहिलो मेडिकल विश्वविद्यालय हुनेछ।
सिनेट बैठकले प्रतिष्ठानमा प्रदेशको रिफरल ट्रमा सेन्टर र मानव अङ्ग प्रत्यारोपण केन्द्र निर्माण गर्ने पनि निर्णय गरेको छ।
यस्तै बैठकले प्रतिष्ठानको शैक्षिक, कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थपानका विषय समेटेर छुट्टै नियमावली बनाउनका लागि मस्यौदा समितिसमेत गठन गरेको छ। समितिको संयोजकमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाललाई संयोजक तोकिएको छ।
त्यसैगरी बैठकले पुनरावेदन आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका डिन प्रा डा दिव्या सिंह शाह र मोरङका संसद राजकुमार ओझालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ। आयोगमा प्रतिष्ठानकै पूर्व उपकुलपति लोकविक्रम थापा अध्यक्ष छन्।
प्रतिष्ठानकै रेक्टर प्रा डा गुरुप्रसाद खनालको नेतृत्वमा नियमावली संशोधन समिति पनि गठन भएको छ।
बैठकले प्रतिष्ठानका विभिन्न ठाउँमा रहेका जग्गाहरुमा स्थानीय सरोकारवालासँग छलफल गरी अस्पतालकै रुपमा विस्तार गर्ने, तीजग्गा व्यापारिक प्रयोजनमा नदिने निर्णय गरेको छ। प्रतिष्ठानका जग्गा व्यापारीलाई नदिन भन्दै धरानमा काङ्ग्रेसका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघले आन्दोलन गरिरहेका थिए।
बैठकमा आर्थिकक वर्ष २०७७/२०७८ का लागि २ अर्ब ९८ करोड ६७ लाखको बजेटसमेत पेस भएको छ। बैठकमा रेक्टर प्राडा गुरुप्रसाद खनालले शैक्षिक प्रतिवेदन, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले आर्थिक प्रतिवेदन र प्रा.डा. गौरीशंकर साहले अस्पताल प्रशासनिक प्रतिवेदन अस्पताल निर्देशक प्रस्तुत गरेका थिए।
कोरोना महामारीका बेला प्रतिष्ठानको सिनेट बैठक हतारमा गरिएको भन्दै धरानमा राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरुले विरोध जनाएका थिए। प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.रेग्मी अहिले बैठक नभएको भए अझै ६-७ महिना गर्ने अवस्था नरहेकाले हतारमा गर्नु परेको बताए। ‘यसमा कुनै हिँडन एजेन्डा थिएनन्, बजेट एप्रुभ नभए प्रतिष्ठान सञ्चालनमा समस्या हुन्थ्यो,' उनले भने, 'हामीले हतारमा गरेपनि प्रतिष्ठानको हितमै काम गरेका छौं। विरोध गर्नेहरुले पनि बुझ्नु हुन्छ होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।