काठमाडौं-जर्मन क्लब बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न सेमिफाइनलमा पुगेको हो।
पोर्चुगलमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना बायर्नसामु सुरुवातमै दबाबमा आएको थियो। बायर्नको जितमा थोमस मुलरले दुई गोल गर्दा फिलिपे कौटिन्होले पनि दुई गोल नै गर्न सफल भए। त्यस्तै, इभान पेरिसिक, सर्ज गिनाब्री, जोसुआ किमिच र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे।
खेलको चौथो मिनेटमा नै मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर यो अग्रता लामो समयसम्म टिक्न सकेन। बायर्नका डविड एलबाले खेलको सातौं मिनेटमा आफ्नै पोष्टमा गोल गर्न पुगेपछि बार्सिलोनाले बायर्नविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो।
खेलको २१औं मिनेटमा पेरिसिकले गोल गर्दै बायर्नलाई २–१ गोलको अग्रता दिलाए। २७ औं मिनेटमा गिनाब्रीले गोल गर्दै बायर्नलाई ३–१ गोलको अग्रतामा पुर्याए। ३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ गोलको अग्रता दिलाए।
पहिलो हाफमा ४–१ गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा पनि थप ४ गोल गर्दा एक गोल खान पुगेको थियो। खेलको ५७औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–२ गोलको स्थितिमा ल्याए। तर खेलको ६३औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ५–२ गोलको अग्रता दिलाए।
एकपछि अर्को गोल गर्ने क्रममा लेवान्डोस्कीले फिलिपे कौटिन्होको पासमा ८२ औं मिनेटमा गोल गर्दै बायर्नलाई ६–२ गोलको फराकिलो अग्रता दिलाए। यो गोलसँगै लेवान्डोस्कीले यो सिजनमा च्याम्पियन्स लिगमा १४ गोल पूरा गरे। खेलको ७५औं मिनेटमा गिनाब्रीको स्थानमा फिलिपे कौटिन्हो मैदान प्रवेश गरेका थिए। उनै कौटिन्होले ८५औं र ८९औं मिनेटमा दुई गोल गर्दै बायर्नलाई बार्सिलोनाविरुद्ध ८–२ गोलको फराकिलो जित दिलाए।
बार्सिलोनाका कौटिन्हो २०१९ देखि लोनमा बायर्नबाट खेलिरहेका छन्। कौटिन्होले आफ्नै पूर्व क्लबविरुद्ध दुई गोल गर्न सफल भए। बार्सिलोनामा सधैं बेन्चमै बस्दै आएका कौटिन्होको भविष्य अन्यौंलमा रहँदै आएको थियो। यो दुई गोलसँगै एक एसिस्टले उनको धमिलो भविष्य मेटाउने प्रयास भएको छ।
बार्सिलोना कमजोर टिम भने होइन। तर बायर्नसामु फराकिलो अन्तरले पराजित हुनुको कारण खोतल्न थालिएको छ। स्तरीय टिम बार्सिलोनाको प्रदर्शन उत्कृष्ट थिएन। डिफेन्स त्यस्तै ध्वस्त थियो भने मिडफिल्ड चल्न सकेन। कप्तान लियोनल मेस्सीमाथि निकै आश गरिएपनि दुई सर्टबाट उनले बायर्नको पोस्टमा राम्रो प्रहार गर्न सकेनन्।
बायर्नले अब फाइनल प्रवेशका लागि इंग्लिस क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब लियोनसँगको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।