काठमाडौं– च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा शुक्रबार राति जर्मन क्लब बायर्न म्युनिक र स्पेनिस क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ।
सेमिफाइनल प्रवेशको लागि यो प्रतिस्पर्धा यो सिजनकै प्रतिष्ठित मानिएको छ। फाइनलको रुपमा लिएइको यो खेलमा दुवै टिमलाई उतिकै डर छ। बार्सिलोनालाई रोबर्ट लेवान्डोस्कीको डर छ। बायर्नलाई लियोनल मेस्सीको। डरै डरबीच यी दुई टिमले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो।
यो सिजनमा बार्सिलोनाभन्दा बायर्न बलियो टिमको रुपमा देखिएको छ। युइएफएमा चौथो स्थानमा रहेपनि बायर्नले च्याम्पियन्स लिगमा ८ खेलमा सतप्रतिशत जित निकालेको छ। जसमा ३१ गोल गर्दा मात्र ६ गोल खाएको छ। चेल्सीलाई प्रिक्वाटरफाइनलमा समग्रमा ७–१ को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको टिम हो, बायर्न।
यो च्याम्पियन्स लिगको यो सिजनमा नै सर्वाधिक गोल गर्ने खेलाडीमा रोबर्ट लेवान्डोस्की छन्। उनले १३ गोल गरेका छन्। त्यसैले पनि बार्सिलोनालाई लेवान्डोस्कीको डर छ। पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेको बायर्न यो पटक पनि स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै आफ्नो उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा छ।
बार्सिलोना बायर्नभन्दा तुलनात्मक रुपमा कमजोर देखिएको छ। बार्यन बुन्डेस लिगा च्याम्पियन टिम हो भने, बार्सिलोना स्पेनिस ला लिगाको उपविजेता टिम हो। यो सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाले खेलेको आठ खेलमध्ये ५ खेलमा जित र तीन खेलमा बराबरी खेलेको छ। जसमा बार्सिलोनाले कुल १३ गोल गरेको छ भने पाँच गोल खाएको छ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन क्लब नापोलीलाई समग्रमा ४–२ ले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको टिम हो।
५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको बार्सिलोना यो पटक पनि बायर्नलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ। यता बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले बायर्न सबै कुरामा बलियो रहेको भन्दै आफूहरुले त्यसै अनुसारको तयारी गरेको जानकारी दिए। उनले भने, ‘बायर्न हरेक कुरामा राम्रो छ। हामी त्यो कुरामा ध्यान दिने छौं। उनीहरुले दबाब दिने छन्, उनीहरुसँग आक्रमक खेल्ने धेरै विकल्पहरु छ। डिफेन्स राम्रो छ। तर हामी दबाब दिएर खेल्न चाहन्छौं।’
यस्तै, बायर्नका प्रशिक्षक हान्स डिटर फ्लिकले लेवान्डोस्की र मेस्सीको तुलना गर्न नमिल्ने बताए। उनले भने, ‘लेवान्डोस्की र मेस्सीको तुलना गर्न मिल्दैन। लेवान्डोस्की विश्वस्तरीय सेन्टर फरवार्ड हुन्। उनको गोल ग्यारेन्टी जस्तै हो। र हुन्छ पनि। मेस्सी विश्वका उत्कृष्ट खेलाडी भइसकेका छन्। उनी असाधारण खेलाडी हुन्। मलाई थाहा छैन कि उनी जस्ता दोस्रो खेलाडी भविष्यमा हुन्छन् कि हुन्नन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।