काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तिमा ३६ जना पुरिएर बेपत्ता भएका छन्।
सभामुख अग्निप्रसाद सापकोटासँगै घटनास्थल पुगेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपाने र जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले चार जनाको शव निकाल्न सफल भएको र अन्य ३६ जनाको खोजी कार्य कठिन भइरहेको जानकारी दिए। संयोजक तामाङका अनुसार शवहरुको अंश बाहिर देखिए पनि उद्धार गर्न सकिएको छैन।
नेपाली सेनाका १४ जना र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ। तर, मौसम खराब हुँदै गएका कारण हेलिकोप्टर अवतरणमा कठिनाइ हुन थालेको छ। मौसम बिग्रिएर कठिनाइ भएमा उद्धारमा ढिलाइ हुनसक्ने प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।
सेनाको हेलिकप्टरले घाइतेहरुलाई सदरमुकाम चौतारा ल्याएर चौतारा अस्पतालमा उपचार सुरु गरिएको छ। गम्भीर अवस्थाका घाइतेलाई काठमाडौ पठाउने कार्य पनि चलिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
विकट बस्ती भएकाले पैदलबाट छिटो पुग्न नसकिने भएकाले हेलिकोप्टरबाट बाहेक उद्धार सम्भव नभएको स्थानीय प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।