काठमाडौं- इजि एस्योरेन्स प्रालि अन्तर्गतकाे इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ। सो सम्झौतापछि इजि ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन्।
विद्युतीय प्रणालीमार्फत् ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापा र इजि एस्योरेन्स प्रालिको तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरे। देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्स प्रालिले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको छ।
सम्झौतापछि इजि ट्याक्सीका प्रबन्ध निर्देशक पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए। ‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिइरहेको बेलामा रकम भुक्तानीमा समस्या भइरहेको थियो। अब सो समस्या समाधान भएको छ। आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ पौडेलले भने।
मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्देश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनीकरण गर्न तथा ग्राहकहरुलाई विद्युतीय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबीच सम्झौता भएको हो।
जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन्। पछिल्ला दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमका रुपमा विकास हुँदै गएको छ। रकम भुक्तानीका लागि प्रापकको खाता नम्बर, नामलगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनै पनि क्युआरकोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाइमा परेको छ।
इजि ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारवाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।