काठमाडौं– जर्मन क्लब आरबी लाइपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा लाइपजिगले स्पनिस क्लब एथ्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
क्वाटरफाइनलमा लाइपजिगले एथ्लेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्न सफल भयो। लाइपजिगका लागि ड्यानी ओल्मो र टाइलर आडम्सले गोल गर्दा एथ्लेटिको मड्रिडका लागि जोआओ फेलिक्सले गोल फर्काए।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको लाइपजिगले दोस्रो हाफमा दुई गोल गर्दा एथ्लेटिकोले एक गोलमात्रै फर्काउन सक्यो। खेलको ५०औं मिनेटमा ड्यानीले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए। खेलको ७१औं मिनेटमा लाइपजिगका लुकासले पेनाल्टी क्षेत्रमा फेलिक्सलाई फोउल गरेपछि एथ्लेटिको मड्रिडले पेनाल्टी पाएको थियो। फेलिक्सले पेनाल्टी प्रहार गर्दै एथ्लेटिको मड्रिडलाई १–१ गोलको बराबरी दिलाए।
एथ्लेटिको मड्रिडविरुद्ध सुरुवातीदेखि नै हावी देखिएको लाइपजिगले खेलको ८८औं मिनेटमा अर्को गोल थप्न सफल भयो। यो पटक भने आडम्सले एन्जिलिनोको पासमा गोल गरे। यो गोलसँगै एथ्लेटिको मड्रिडमाथि २–१ गोलको जित निकाल्दै लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो।
फाइनल प्रवेशका लागि लाइपजिगले अब सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।