काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा पहिरोले ठूलो जनधनको क्षति पुगेपछि नेपाली सेना हेलिकप्टरबाट घटनास्थल पुगेर घाइतेको उद्धार थालेको छ।
घटनाको चार घण्टापछि सेनाको टोली घटनास्थल पुगेको हो। बिहान करिब ६ बजे बस्तीमाथिबाट पहिरो खस्दा लिदीमा ठूलो जनधनको क्षति पुगेको अनुमान गरिएको थियो। पहिरोले कम्तिमा एक दर्जन घर पुरेको प्रहरीले जनाएको छ। ‘सेनाले हेलिकप्टरमार्फत् चार घाइते चौतारा लगेको छ,’ घटनास्थलमा रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने।
हालसम्म १० जनालाई घाइते अवस्थामा फेला पारिएको जानकारी दिँदै उनले बाँकीलाई लिन फेरि हेलिकप्टर आउने बताए।
‘अहिले पनि पहिरो खसिरहेको छ। केही समय अघि सुख्खा पहिरो खस्दा थप घरहरु पुरिएका छन्’ श्रेष्ठले भने, ‘यहाँ अनुमान गरिएभन्दा धेरै मानवीय क्षति भएको छ,।’
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा चढेर आएको हेलिकप्टरले घटनास्थलमा सेनाले उतारेको हो। घटनास्थल आएका उनले सदरमुकाम चौतारामा ओर्लेर त्यहाँबाट उद्धारका लागि सेना पठाएका हुन्। उनी पनि घटनास्थलमा जाने तयारी गरिरहेका छन्। घाइते बोकेर आउने हेलिकप्टरले थप सुरक्षाकर्मी घटनास्थल लैजाने जिल्ला प्रहरीका डिएसपी माधव काफ्लेले बताए।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय जलवीरे र प्रहरी चौकी कात्तिकेबाट हिँडेको टोली अझै पहिरोस्थल पुग्न सकेको छैन। घटनास्थल दुर्गममा रहेको र पैदल हिँड्नु पर्दा समयमै सुरक्षाकर्मी पुग्न समय लागेको उनले बताए। ‘पहिरोमा धेरै बेपत्ता भएका छन्’ अध्यक्ष श्रेष्ठले भने ।
पहिरोमा पाँच परिवारका सदस्यहरु हराइरहेका छन्। त्यस्तै नेकपाका केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली पनि उद्धारका लागि हेलिकप्टर लिएर घटनास्थल पुगेको छ। नेपाली सेनाको टोली घटनास्थल पुगेकाले क्षतिको वास्तविक विवरण केहीबेरपछि आउन थाल्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।