सिन्धुपाल्चाेक- सिन्धुपाल्चाेककाे लिदीमा पहिराेमा परी घाइते भएकालाई उद्धार गरी उपचारका लागि काठमाडाैं पठाइएकाे छ। लिदीबाट पहिलो चरणमा ४ जना (२ महिला र २ पुरुष) गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडाैं पठाइएको हाे।
अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। पहिरो गएको क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएपनि चौतारामा झरेर उद्धारका लागि सभामुखले ४ जना सेना र एक जना इन्जिनियरलाई त्यसतर्फ पठाएका छन्।
त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए।
जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्। लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटरमाथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ। शुक्रबार बिहान करिब साढे ६ बजेतिर गएको पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
स्थानीय पेशलाल दोङका अनुसार २ जनाको शव देखिएको छ। माथिबाट पहिरो आइरहेकोले खोज तथा उद्धारमा समस्या भएको उनले बताए। बिहानीपख पहिरो गएकाले पहिरोमा घर पुरिएकाहरू माथि डाँडामा गएर बसेका छन्। स्थानीयले सम्पर्कविहीनहरूको खोज र उद्धार गर्न सकेका छैनन्।
भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो। नजिकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिरोले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले प्रहरी घटनास्थल पुग्न समय लागेकाे बताए।
गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेकोभन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएका थिए। तर विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएका कारण यस्तो दुर्घटना हुन पुगेको स्थानीय आशबहादुर तामाङकाे आराेप छ। ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने ‘उनीहरूले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षती हुने थिएन।’
तामाङका अनुसार २६ मेघावाटको बलेफी ए हाइड्रोपावरको सुरुङनिर्माणको क्रममा विष्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको हो। ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दाबढी घरहरू जोखिममा परेको बताएका थियौं’, तामाङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।