काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरो गएपछि उद्धार भइरहेकै बेला अर्को सुख्खा पहिरो गएको छ। सुख्खा पहिरोमा परी थप केही घर पुरिएको वडाध्यक्ष सनत अधिकारीले बताए।
आज बिहान गएको पहिरोमा लामा गाउँका ५ घर पुरिएका छन्। सबै घरका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ।
केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। गाउँपालिकाको टोली घटनास्थल पुग्नै लागेकाले थप विवरण केही समयमा आउने उनले बताइन्। पहिरोले लामा गाउँ पुरिँदा १५ जना घाइते भएका छन्। उनीहरु आफैं पहिरोबाट निस्किएको र उद्धारमा खटिएको उनले बताइन्।
पुरिएका ५ घरका सबै सम्पर्कविहीन रहेकाले कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले बताइन्। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको बताए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकोप्टरसहित उद्धारमा जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।