काठमाडौं-भोटेकोसी बाढीको कटान र सडक माथिबाट आएको पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे–लिपिङ मार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ। २६ किलोमिटर लामो उक्त सडक खण्डमा सवारीसाधन सञ्चालन पूर्ण रुपमा बन्द भएको छ। एक हप्तादेखि उक्त सडकमा पहिरो जान थालेको हो।
भोटेकोसी नदीको बाढीले डाक्लाङमा ठूलो पहिरो गएको छ। झण्डै दुई मिटर सडक नदीले कटान गरेको छ। ट्रयाकसमेत खन्न नमिल्ने गरी उक्त सडक बगेको छ। त्यस्तै सानो डाक्लाङस्थित सडकमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध छ। अवरुद्ध भएको साता बिते पनि सो सडक कहिले बन्छ केही पत्तो छैन।
बाह्रबिसेदेखि नै लिपिङसम्मको सडक बाढीले दजनौं खण्डमा बिगारेको छ। बाढीले खाग्दल, जम्बु, शिरिशे, इलाका प्रहरी चौकी बाह्रबिसे छेउका सडक बगरमा परिणत भएका छन्। बाह्रबिसेदेखि लिपिङसम्मको सडकखण्ड चिराचिरा परेका छन् भने विभिन्न स्थानमा भासिएका छन्। सडक बग्न थालेपछि सडक माथि र सडक आसपासका बस्ती जोखिममा परेका छन्।
डाक्लाङ पहिरोमाथि पनथली गाउँमा ३५ घरधुरी छ। उक्त पहिरोले सो बस्ती उच्च जोखिममा पारेको भोटेकोसी गाउँपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। झिर्पुको हिन्दी खोल्साले २५ घर उच्च जोखिममा परेका छन्। उक्त सडकमा केन्द्र सरकारको उचित ध्यान पुग्नु पर्ने वडा अध्यक्ष शेर्पाले बताए।
स्थानीय समाजसेवी पासाङनुर्पु तामाङका अनुसार सडक भत्कन थालेपछि पहिरो क्षेत्रबाट नै पैदलयात्रा गर्नुपर्ने समस्या रहेको छ। पहिरोबाट आउजाउ गर्दा माथिबाट ढुंगाा झरेर लाग्ने खतरा रहेको छ। भोटेकोसी बाढी र ठाडोखोलाले पीडित बनाएकाहरुलाई सहयोग लिएर जानेहरु पहिरोबाटै राहत बोकेर गईरहेका छन्।
उक्त सडकखण्डअन्तर्गत जम्बु र खाग्दल खण्डमा असार २४ गतेको बाढीले बगाए पनि मर्मत गरि सडक सञ्चालन गरिएको थियो । तर अहिले डाक्लाङ खण्डलाई नदीले नै कटान गरेकाले मर्मत गरेर पनि सञ्चालन गर्न नसकिने अबस्था रहेको समाजसेवी साङबु शेर्पाले बताए। सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले डोजर र कर्मचारी तयारी अवस्थामा राखेको र मौसम सुधार भएसँगै सडक मर्मतको काम थालनी गरिने जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।