काठमाडौं– च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बिहीबार राति स्पेनिस क्लब एथ्लेटिको मड्रिड र जर्मन क्लब आरबी लाइपजिगबीच प्रतिस्पर्धा हुँदैछ।
बिहीबार राति १२ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुवै टिम सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछन्। दुवै क्बलले इंग्लिस प्रिमियर क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए। एथ्लेटिको मड्रिडले साविक विजेता लिभरपुललाई समग्रमा ४–२ गोलअन्तरले पराजित गरेको थियो। यता, लाइपजिगले टोटनह्यामलाई समग्रमा ४–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो।
तुलनात्मक रुपमा लाइपजिगभन्दा एथ्लेटिको मड्रिडलाई बलियो टोलीको रुपमा लिइएको छ। लाइपजिगका मुख्य प्रशिक्षक जुलियन नेगल्समनले डबल लेगभन्दा सिंगल लेगमा गाह्रो हुने भन्दै आफ्नो टिम सेमिफाइनलमा पुग्नकै लागि खेल्ने बताए। यता, एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले कोरोना भाइरस अघि लिभरपुललाई पराजित गरेको जस्तो नहुने बताए।
एथ्लेटिको मड्रिड र लाइपजिगबीचको विजेताले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। पीएसजीले बुधबार राति भएको क्वाटरफाइनलमा एटलान्टालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।