काठमाडौं- विदेशी लगानी नेपाल ल्याउन सहजीकरण तथा उद्योग वाणिज्य क्षेत्रमा उब्जिएका विवाद समाधानमा महंगो खर्च व्यहोरेर विदेशमा रहेका संस्था र विशेषज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले एसिया प्यासिफिक सेन्टर फर आर्विट्रेशन एण्ड मेडिएसन (एपक्याम) नामक संस्था स्थापना भएको छ।
समृद्धि र विकासको बाधक विवाद भएकाले समाज रुपान्तरण र विकासका लागि सक्रिय एसिया प्रशान्त क्षेत्रका विभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम्प नेपालमा पनि विस्तार गरिएको संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए। हाल नेपालको नेपाल इन्टरनेशनल एडिआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफ आर्विट्रेशन एण्ड मिडिएसन, मलेसियन मिडिएसन सेन्टर, इण्डोनेसिया मिडिएसन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएसन, हङ्गकङ इन्स्टिच्युट अफ आर्विट्रेटर्स, थाइल्याण्ड आर्विट्रेसन सन्टर, अष्ट्रेलियन डिस्प्युट रेजोलुसन सेन्टरलगायतका संस्थाहरु आबद्ध भई संयुक्त सेवा सुरु गरेका छन्।


नेपालमा केही कानुन व्यवसायीहरुको पहलमा खास गरी मध्यस्थ र मेलमिलापमा आधारित सेवा, यही विषयमा थप अध्ययन, अनुसन्धान र थप सुधार गर्दै जाने उद्देश्यले ८ वर्षअघि नेपाल इन्टरनेशनल एडिआर सेन्टर (एआएसी)को स्थापना भई काम हुँदै आएको थियो। एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकहरुमा यस्तै विषयमा काम गर्ने संस्थाहरु मिलेर प्रभावकारी संजाल खडा गरी बहुराष्ट्रिय पक्षहरुबीचमा खडा भएका व्यापारिक तथा सम्पत्तिको विवादमा उक्त नेटवर्कमार्फत विवाद समाधानको सेवा दिने काम सुरु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।