काठमाडाैं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले कोरोना संक्रमण अदालतभित्रै प्रवेश गरिसकेकाले देशभरका सबै अदालतको सुनुवाई स्थगित गर्न माग गरेको छ।
बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढेकाले सुनुवाई स्थगित गर्न माग गरेका हुन्। अदालतका न्यायाधीश, पिएसओ, सुरक्षाकर्मी, सवारी चालक र कर्मचारीमा समेत संक्रमण पुष्टि भएकाले सुनुवाई रोक्न बारले माग गरेको हाे।
बाँके जिल्ला अदालत र मोरङ उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण देखिएको थियो भने बाँकेका अदालतका कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो। त्यस्तै सर्वोच्च अदालतका एक सवारी चलाक र न्यायाधीशको सुरक्षागार्डमा कोरोना पुष्टि भएको थियो।
बारले संक्रमणका कारण न्यायाधीशहरु नै क्वारेनटाइन/आइसोलेनमा बसेको र केही कानुन व्यवसायीमा समेत कोरोना देखिएकाले सेवा स्थगित गर्न माग गरेको हो। काठमाडौं उपत्यकामा आउन जान रोक लगाइएको र जोरबिजोर गरी सवारी साधन चलाउन पाउने भएकाले कानुन व्यवसायीलाई अदालत आउनसमेत समस्या भएको बारको विज्ञप्तिमा उल्लेख छ।
संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अदालतको सेवामा संकुचन गरिएको भएपनि त्यो पर्याप्त नभएको बारको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।