काठमाडौं- राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थालाई घर–घरमा पुगेर गरिने बचत संकलनको काम रोक्न आफू आबद्ध सहकारी संस्थाहरुलाई परिपत्र गरेको छ। महासंघले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बचत संकलनका लागि सदस्यहरुको घर–घरमा पुग्ने काम बन्द गर्न भनेको हो।
कोभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै महासंघले सदस्य भएकै ठाउँमा पुगेर बचत संकलन गर्ने काम रोक्न भनेको हो। त्यस्तै सिलबन्दी गरिएका क्षेत्रमा रहेका सहकारी संघसंस्थाहरु बन्द गर्ने र संस्था पूर्णरुपमा बन्द गर्दा सम्पर्क व्यक्ति तोकी सदस्यहरुलाई अत्यावश्यक सेवा दिन पनि महासंघले परिपत्र गरेको छ।
सरकारले सबै सार्वजनिक संस्थालाई ५० प्रतिशत कर्मचारी मात्रै राखेर काम गर्न दिएको निर्देशनअनुसार आलोपालोमा गरी आधा जनशक्तिबाट मात्र काम गर्न र कार्यालय समयको सीमा घटाई सेवा दिन पनि महासंघले निर्देशन दिएको छ। सदस्यहरुलाई प्रविधिको अधिकतम प्रयोग गरेर सेवा दिन सकिने विषयमा बढी ध्यान दिन महासंघले भनेको छ।
सहकारी संस्था तथा संघहरुले बैठक, अन्तरक्रिया, छलफललगायतका कार्यक्रम भर्चुअल रुपमा मात्र गर्न पनि परिपत्रमार्फत भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।