काठमाडौं- यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको स्टक प्रिन्ट गरिसकेको छ। चैत ११ देखि सरकारले लकडाउन गरेकाले त्यसयता लाइसेन्सको नयाँ आवेदन नपरेकाले थपिएको थिएन। विभागमा लाइसेन्सका लागि ट्रायल पास गरेको वर्ष दिनभन्दा धेरै कुर्नुपर्ने अवस्था थियो।
लकडाउन भएको ३ सातापछि विभागले लाइसेन्स प्रिन्ट थालेको थियो। लकडाउनकै अवधिमा विभागले प्रिन्ट गर्न बाँकी ६ लाख भन्दाबढी लाइसेन्स प्रिन्ट गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘लकडाउनमा नयाँ आवेदन आउने कुरा भएन। ट्रायम पास गरेर वेटिङमा ६ लाखभन्दा बढी लाइसेन्स थियो,’ उनले भने, ‘यो अवधिमा हामीले दैनिक ५ हजारको हाराहारीमा प्रिन्ट गरेर सबै डेडलक प्रिन्ट गरिसकेका छौं।’
यातायात व्यवस्था विभागको टाउको दुःखाईको विषय बनेको स्मार्ट लाइसेन्स प्रिन्टका लागि लकडाउन ‘अवसर’कै रुपमा रह्यो। लामो समयदेखि ट्रायल पास गरेर र नवीकरण दस्तुर तिरेर रसिदका भरमा लाखौं सेवाग्रहरीहरु सवारी चलाइरहेका छन्। लाइसेन्स प्रिन्ट भइसकेको भएपनि यातायात कार्यालयहरुले कोरोना भाइरसको संक्रमण जोखिमलाई ध्यानमा राखेर हाललाई लाइसेन्स वितरण भने रोकका छन्।
लकडाउन सुरु हुँदा विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या ६ लाखभन्दा बढी थियो। मास प्रिन्टरमार्फत विभागले लाइसेन्स छपाइ गरेको हो। सामान्य अवस्थामा देशभरबाट दैनिक ३ हजार लाइसेन्स प्रिन्ट गर्नुपर्ने माग विभागमा आउने गरेको थियो। उक्त संख्या नयाँ लाइसेन्सका लागि ट्रायल पास गरेका र नवीकरण गर्नुपर्नेको संख्या हो। लकडाउनयता त्यो माग नभएकाले विभागलाई सजिलो भएको थियो।
स्मार्ट लाइसेन्सको प्रिन्ट गर्ने सम्पूर्ण जिम्मा यातायात व्यवस्था विभागले नै लिँदै आएको छ। देश संघीयतामा गएसँगै सवारी दर्ता तथा लाइसेन्स वितरणको जिम्मा प्रदेश सरकारलाई तोकिएको छ। तथापि प्रदेश सरकारहरुसँग संरचना र सफ्टवेर नभएकाले उक्त काम विभागले नै गर्दै आएको छ।
लकडाउनको अवधिमा पुरानो प्रिन्ट गर्न बाँकी साबै लाइसेन्स प्रिन्ट भइसकेकाले अवस्था सामान्य भएपछि साता वा १५ दिनमा लाइसेन्स दिनसक्ने अस्था रहने विभागले जनाएको छ। अवस्था सामान्य भएपछि दैनिक ५ हजारको प्रिन्ट माग आउने अनुमान विभागको छ।
दसैंअघि लाइसेन्सको आवेदन नखुल्ने
सरकारले चैत ११ देखि गरेको लकडाउनका कारण लाइसेन्सको नयाँ आवेदनसमेत बन्द भएको थियो। असार १ देखि सरकराले लकडाउन खुकुलो बनाएको र सवारी दर्ता तथा नवीकरणको काम खुल्ला गरेको थियो। तर कोरोना भाइरसको संक्रमण बढेपछि साउन २६ गतेको मन्त्रीपरिषद् बैठकले अत्यावश्यकबाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेसँग सबै सेवा रोकिएको छ।
संक्रमितको संख्या बढ्दै गएको र त्यो जोखिम केही समय कायमै रहने देखिएकाले दसैंअघि लाइसेन्सको नयाँ आवेदन खुल्ने सम्भावना न्यून रहेको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।