काठमाडौं– राष्ट्रिय फुटबल टिमका २८ सदस्यमा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको छ। २९ राष्ट्रिय फुटबल टिमका सदस्यहरुको मंगलबार स्वाब संकलन गरिएको थियो। जसमा २८ को कोरोना रिपोर्ट नेगेटिभ आउँदा एक सदस्यको भने फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको एन्फाले जानकारी दिएको छ। तर, किन फेरि कोरोना परीक्षण गर्नुपर्ने भन्ने बारे एन्फाले खुलाएको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार बाँकी रहेका २३ खेलाडी र ६ जना टिम अफिसियल गरी २९ जनाको कोरोना परीक्षण गराएको थियो।
मंगलबार कोरोना परीक्षण गराउनेमा किरण चेम्जोङ, तेज तामाङ, विकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङ्दम्बे, विक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सुनिल बल, अञ्जन विष्ट रहेका छन्। त्यस्तै, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, विकास खवास, जर्जप्रिन्स कार्की, सुजल श्रेष्ठ, सरोज दाहाल, अविशेक रिजाल, सुवास गुरुङ र अनन्त तामाङ थिए। त्यस्तै, टिम अफिसियलमा मधुसुदन उपाध्याय, कृष्ण भक्त मानन्धर, विकास मल्ल, विवेक सुवेदी, युजल श्रेष्ठ र राजु डंगोल थिए।
यसअघि सोमबार परीक्षण गराउने ११ खेलाडीसहित राष्ट्रिय फुटबल टिमका २५ सदस्यको कोरोना रिपोर्ट बुधबार (हिजो) नेगेटिभ आएको थियो। कोरोना भाइरस रिपोर्ट नेगेटिभ आउने खेलाडीमा रञ्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रविशंकर पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी थिए। त्यस्तै, १२ जना होस्टेल स्टाफसहित प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविष्कार पुडासैनीको पनि रिपोर्ट नेगेटिभ आएको थियो।
विश्वकप छनोटको दोस्रो चरणको लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न कोरोना परीक्षण गराएको थियो। तर विश्वकप छनोटका दोस्रो चरणको खेलहरु नै स्थगित भएपछि बन्द प्रशिक्षण पनि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।