काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नाटकीय जित निकाल्ने क्रममा पिएसजीले एटलान्टालाई २–१ गोलअन्तरले पराजित गर्न सफल भयो।
खेलको ८९औं मिनेटमासम्म इटालियन क्लब एटलान्टा १–० गोलले अघि थियो। निर्धारित ९० मिनेटको खेल सकिन मात्र १ मिनेट बाँकी रहँदासम्म यस्तो नतिजा हुँदा सेमिफाइनल पुग्ने लगभग निश्चित जस्तै थियो।
प्रशिक्षक जियान पिएरो ग्यासपेरिनी खेलाडीलाई निर्देशन दिँदै हौसी रहेका थिए। उनको अनुहारमा चमक आउनु आफ्नो टिम सेमिफाइनल पुग्ने पक्का जस्तै भएर हाे। तर, त्यतिबेला प्रशिक्षक ग्यासपेरिनी र खेलाडीको सपना टुट्यो, जतिबेला खेलको ९०औं मिनेटमा पिएसजीका माक्र्युनोसले गोल गरे। यो गोलसँगै पिएसजीले १–१ गोलको बराबरी बनाउँदै खेलमा फर्किएकाे थियाे।
८९औं मिनेटसम्म १–० गोलको अग्रता लिएको एटलान्टा अन्तिममा पिएसजीलाई रोक्न नसक्दा हार्न पुग्यो। यसअघि खेलको २६औं मिनेटमा नै मारियो पसलिकले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए।
एकपछि अर्को आक्रमक खेल खेलेको पिएसजीले इन्जुरी समयमा गोल गर्दै २–१ गोलको अग्रता लियो। पिएसजीका लागि इरिक म्याक्सिम मोटिङले गोल गरेका थिए। यो गोलसँगै पिएसजीले एटलान्टालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
पिएसजीले अब सेमिफाइनलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र जर्मन क्लब लाइपजिगको विजेतासँग खेल्नेछ। एटलान्टाका प्रशिक्षक ग्यासपेरिनीले हारपछि भनेका छन्, ‘हामी एकदमै जित नजिक थियौं। तर हार्याैं। अन्तिम समयमा चुक्यौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।