काठमाडौं- युरोपियन च्याम्पियन्स लिग फुटबलमा बुधबार राति फ्रेन्च क्लब पिएसजी र इटालियन क्लब एटलान्टाबीच खेल हुँदैछ। पहिलो पटक क्वाटरफाइनल पुगेको एटलान्टाले पिएसजीविरुद्ध खुलेर खेल्न सक्ने विश्लेषण भइरहेका छन्।
क्वाटरफाइनल खेल पोर्चुगल लिस्बोनको रंगशालामा हुनेछ। परिवर्तित नियमअनुसार क्वाटरफाइनलका सबै खेलहरु एक लेगको मात्र हुनेछन्। यसैले नकआउट खेलमा कतिपय टिमको अवस्था र अनुमानभन्दा भिन्न खेल देखिने सम्भावना बढी रहन्छ।
एटलान्टा यसपटक च्याम्पियन्स लिगमा अनुमानबाहिरको टिम बनिरहेको छ। च्याम्पियन्स लिगमा पहिलो पटक छनोट हुँदा नै एटलान्टा क्वाटरफाइनलमा पुगेको छ। जसमा अन्तिम १६ को खेलमा योसिप इलिचिचको खेल उत्कृष्ट रह्यो।
भ्यालेन्सियाविरुद्धको दोस्रो लेगमा उनी एक्लैले चार गोल गरेका थिए। गोलमा बढेका योसिप मात्र होइन एटलान्टा सम्पूर्ण टिम नै सम्हालिएको देखिन्छ। पहिलो सिजन हुनाले उनीहरुमा दबाबभन्दा बढी आत्मविश्वास छ।

एटलान्टा क्लब रहेको मिलाननजिको बर्गामो सहर कोरोना माहामारीले सबैभन्दा बढी प्रताडित बनेको सहर हो। त्यस्तो अवस्थाबाट अघि बढेर अहिले क्लबले आफ्ना समर्थकलाई खुसी फर्काउने प्रयास गरिरहेको छ। सिरि ए मा तेस्रो भएको क्लबका लागि अहिलेको अवस्था अगाडि बढ्न प्रेरित गर्ने छ।
पिएसजी र एटलान्टाबीच यो पहिलो भेट हो। यस्तोमा इटालियन प्रतिस्पर्धीसँग च्याम्पियन्स लिगमा अहिलेसम्म एक खेल पनि नजितेको पिएसजीका लागि पनि अवस्था सहज छैन।
क्वाटरफाइनलको पहिलो खेलमा पिएसजीका लागि घाइते रहेका केलियन एमबाप्पे फर्कने खबर सुखद बनिरहेको देखिन्छ। अतिरिक्त खेलाडीका रुपमा उनको प्रयोग हुने प्रशिक्षक थोमस टचेलले बताएका छन्।
अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डोर्टमुन्डसँग २-१ ले हार्दा पिएसजीको निकै आलोचना भएको थियो। तर दोस्रो लेगको खेलमा २-० ले जित्दै पिएसजी खेलमा फर्कियो। जसमा नेमार र बेर्नाटले गोल गरेका थिए। जसले पिएसजी पछिल्लो चार वर्षमा पहिलोपटक क्वार्टरफाइनल पुग्न सक्यो। त्यसअघि समूह चरणको खेलमा पिएसजीको लय अझ उत्कृष्ट देखिएको थियो।
एटलान्टा भर्सेस पिएसजी
च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो खेलमा नेपाली समयअनुसार बुधबार राति पौने १ बजे एटलान्टा र पिएसजी खेल्दैछन्।
एटलान्टा
युइएफएमा स्थान- ५०औँ
यो सिजनको अवस्था- खेल ८, जित ४, बराबरी १, हार ३, गरेको गोल १६, खाएको गोल १६
अन्तिम १६ को खेलमा- भ्यालेन्सियालाई ८-४ ले हराएको
धेरै गोल गर्ने- योसिप इलिचिच, पाँच गोल
युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- क्वार्टरफाइनल (यही पहिलो सिजन)
पिएसजी
युइएफएमा स्थान- सातौँ
यो सिजनको अवस्था- खेल ८, जित ६, बराबरी १, हार १, गरेको गोल २०, खाएको गोल ४
अन्तिम १६ को खेलमा- बोरुसिया डोर्टमुन्डलाई ३-२ ले हराएको
धेरै गोल गर्ने- माउरो इकार्डी र केलियन एमबाप्पे, पाँच गोल
गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको
युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (१९९४-९५ को सिजन)
के भन्छन् प्रशिक्षक?
जियान पिएरो ग्यासपेरिनी, एटलान्टा
युरोपमा ठूलो प्रभाव नभएको टिमले पनि च्याम्पियन्स लिगमा राम्रो गर्न सक्छ भनेर हामीले देखाइरहेका छौँ। केही गर्ने क्षमता र साहस हामीमा छ। मानिसहरुमा हामीप्रति आश पनि बढेको छ। त्यसलाई निराश नबनाउन सक्दो प्रयास गर्नेछौँ। नेमार विश्व उत्कृष्ट खेलाडीमध्ये एक हुन्, त्यसैले उनलाई रोक्न हामीलाई चुनौती हुनेछ।
थोमस टचेल, पिएसजी
एटलान्टाविरुद्ध खेल्न सहज हुने छैन। यो ठूलो चुनौती पनि हो, तर खेलमा जहिले पनि सम्भावनाहरु हुन्छन् नै। हामी रणनीतिगत रुपमा मानसिक खेल खेल्नेछौँ। हामीले पछिल्लो समय गरेको अभ्यासमा सामञ्जस्य मिलाउन सकेका पनि छौँ। टिम आत्मविश्वासी छ। हामी सँगै भोग्छौँ र सँगै लड्छौँ।
सम्भावित सुरुवाती ११
एटलान्टा- स्पोर्टिएलो, पालोमिनो, टोलोइ, डिमजिसी, हेटबोर, डि रुन, फ्युलर, गोसेन्स, गोमेज, मालिनोभ्स्की र जापाटा।
पिएसजी- नाभास, केहरर, सिल्भा, किम्बेमप्पे, बर्नाट, हेरेरा, माक्र्विनस, गुए, साराबिया, इकार्डी र नेमार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।