काठमाडौं- स्पेनिस क्लब सेभिया र युक्रेनको क्लब शेख्तर डोनेस्क युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेका छन्। सेभियाले इंग्लिस क्लब वुल्भ्स र डोनेस्कले स्वीस क्लब एफी सी बसेललाई हराएका हुन्।
सेभियाको जितमा खेलको ८८औँ मिनेटमा ओकाम्पसले गोल गरेका थिए। वुल्भ्सले खेलको १३औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा चुक्नुपरेको हो। राउल जिमिनेन्जले हानेको पेनाल्टी गोलकिपरले बचाएका थिए।
यो सेभियाको युइएफए कप र युरोपा लिग गरी साताौँ पटक सेमिफाइनल यात्रा हो। सेमिफाइनलमा सेभियाले अब प्रिमियर लिगकै क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।
यस्तै डोनेस्क र बसेलबीचको खेल ४–१ मा सकिएको हो। डोनेस्कका लागि खेलको दोस्रो मिनेटमा नै जुनियर मोरासले गोल गरेर अग्रता बनाएका थिए। त्यसपछि टाइसन, लोरेन्को र सान्तोषले गोल थपे। बसेलका लागि अन्तिम समयमा विल्भ्सविंकलले एक गोल गरे।
अब सेमिफाइनलमा डोनेस्कले इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। युरोपियन प्रतिस्पर्धामा आज रातिदेखि च्याम्पियन्स लिग क्वार्टरफाइनलका खेलहरु हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।