काठमाडौं- बैंक अफ काठमाण्डूको नाफा २२ प्रतिशतले घटेको छ। कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गर्दा यसको प्रत्यक्ष असर बैंकको नाफामा परेको हो। बैंकको आम्दानीको प्रमुख स्रोत ब्याज आम्दानीमा नै गिरावट आएको छ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो। प्रोभिजनिङका कारण बैंकको वितरण योग्य मुनाफा भने ८८ करोड ७ लाख रुपैयाँ मात्रै छ। सेयरधनीले यही नाफाबाट मात्रै लाभांश पाउन सक्छन्।
खुद ब्याज आम्दानी ५.२१ प्रतिशतले घटेर तीन अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ। फि तथा कमिसनतर्फको आम्दानी भने ४ प्रतिशतले बढेर ५४ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष बैंकले ११.३४ प्रतिशतले निक्षेप सुधार गर्दा कर्जा विस्तार भने ७.७२ प्रतिशतले मात्रै बढाएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
कोभिडले ब्याज तथा किस्ता उठ्न नसक्दा बैंकको खराब कर्जा ०.८१ प्रतिशत विन्दुले बढेर २.३५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले प्रोभिजनिङको मापदण्लाई खुकुलो पारे पनि भोलिका दिनमा हुन सक्ने जोखिमलाई अहिले देखिनै व्यवस्था गर्दै जाँदा वितरण योग्य मुनाफामा असर गरेको हो।
कष्ट अफ फण्ड घट्नुका साथै आधार ब्याजदर पनि घटेको छ। आधार ब्याजदर १.२७ प्रतिशत विन्दुले घटेर ८.७१ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी ६ रुपैयाँले घटेर १७ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।