काठमाडौं-नयाँ जीवनबिमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सले पहिलो प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणतर्फको आइपिओ भदौ ४ गतेदेखि निष्काशन गर्ने भएको छ।
सर्वसाधारणतर्फको ६३ लाख कित्तामध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाएको छ। त्यस्तै ५ प्रतिशत कर्मचारीहरुले पाउने छन्। बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। म्युचुअल फण्डहरुले तीन लाख १५ हजार कित्ता र कर्मचारीहरुले पनि तीन लाख १५ हजार कित्ता पाउने छन्।
कम्पनीले भदौ ८ गतेसम्म बिक्री खुला गर्ने छ। सर्वसाधारले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
यस अगाडि अजोड इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा सबैभन्दा धेरै ४ लाख ८७ हजारले आवेदन दिएका थिए। यसै आधारमा पनि सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २० कित्ताभन्दा धेरै पाउन सक्ने देखिँदैन।
रिलायन्सले आइपिओ निष्काशन गरेसँगै चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।