काठमाडौं- नेपाल स्टक एक्सचेन्जले लगानीकर्ता तथा ब्रोकरहरुलाई भौतिक दूरी कामय गर्न निर्देशन दिएको छ। सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्न भनिएकाे हाे।
नेप्सेमा पेश गर्नुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत पिडिएफ फाइल पठाउन निर्देशन जारी गरिएको छ। सदस्य दलालहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंकमार्फत इमेल पठाउन लगाउने र सोको जानकारी नेप्सेले दिएको वेबसाइटमार्फत गराउन अनुरोध गरिएकाे छ। संस्थापक सेयरको कारोबार गर्न गराउन सदस्य दलालहरुले आवस्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेश गर्नु पर्नेछ।
सूचीकृत कम्पनीहरुले नेप्सेसँग भएको सूचीकरण सम्झौता नवीकरण वार्षिक शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्ने र सोको जानकारी तोकिएको वेबसाइटमार्फत दिनु पर्नेछ। सूचीकृत कम्पनीहरुले नेप्सेसँग भएको सूचीकरण संझौता अनुरुपका जानकारी तथा विवरणहरु इमेलमार्फत पठाउनु पर्नेछ। संलग्न गर्नुपर्ने कागजपत्रहरु अभौतिक रुपमा पिडिएफ फाइल पठाउनु पर्ने नेप्सेले जनाएकाे छ।
लगानीकर्ताले सदस्य दलालमार्फत पुँजीगत लाभकर प्रमाणीकरण सिफारिसका लागि पेश गर्ने निवेदन आवश्यक सम्पूर्ण कागजपत्र संकलन भइसकेपछि मात्र नेप्सेमा पेश गर्न निर्देशन दिएको छ। सदस्य दलालहरुले कार्यालय सञ्चालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी भौतिक दूरी कायम गर्ने, माक्स लगाउने, ज्वरो नाप्ने, स्यानिटाइजरकाे प्रयोग गर्ने सम्बन्धमा जारी गरेका निर्देशन तथा सिफारिसहरु कडाइका साथ पालना गर्न समेत नेप्सेले निर्देशन जारी गरेको छ।
ब्रोकरहरुले धितोपत्र कारोबारका सन्दर्भमा लगानीकर्ताहरुलाई अनलाइनको प्रयोग गर्न प्रोत्साहित गर्न समेत नेप्सेले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।