काठमाडौं-धितोपत्र व्यापारी 'स्टक डिलर' ले २० करोड रुपैयाँभन्दा तल चुक्ता पुँजी भएका कम्पनीको शेयरमा लगानी गर्न नपाउने भएका छन्। नेपाल स्टक एक्सचेन्जले 'धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७' लागू गरेको हाे।
उक्त कार्यविधि अनुसार स्टक डिलरले चुक्ता पुँजी २० करोड रुपैयाँभन्दा बढी भएका कम्पनीमा मात्रै लगानी गर्न पाउने छन्। यस आधारमा हाल दोस्रो बजारमा सूचीकृत माइक्रोफाइनान्सको चुक्ता पुँजी २० करोड रुपैयाँभन्दा कम छ।
डिलरले तीन वर्षदेखि नाफामा रहेका कम्पनीमा मात्रै लगानी गर्न पाउने छन्। त्यस्तै कम्तिमा १० हजारभन्दा धेरै लगानीकर्ता भएका कम्पनीमा मात्रै लगानी गर्न सक्ने छन्। यस आधारमा पनि कतिपय कम्पनी लगानीयोग्य हुँदैनन्।
एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनुपर्छ। यसबाहेक नेप्सेले प्रत्येक वर्ष कारोबारयोग्य कम्पनीहरुको सूची अद्यावधिक गर्नेछ।
डिलरले कारोबार गर्न चाहेका कम्पनीको सूची नेप्सेमा बुझाउनु पर्ने कार्यविधिमा उल्लेख छ। स्टक डिलर आफैंले कारोबार गर्न सक्ने छन्। यसका लागि नेप्सेले डिलरलाई विण्डो दिनेछ। दैनिक खरिद बिक्री गर्ने क्रममा आफ्नो नेटवर्थको ६० प्रतिशत रकम सीमाभित्र रहेर गर्नु पर्छ।
दैनिक कारोबारका लागि कम्तिमा पनि ५० लाख रुपैयाँको बैंक ग्यारेन्टी हुनुपर्छ। बैंक ग्यारेन्टीको २५ गुणासम्म कारोबार गर्न पाउनेछ। डिलरले एक पटकमा ८ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीको ५० हजार कित्तासम्म खरिद गर्न सक्नेछन्। त्यस्तै ५ अर्बभन्दा बढी ८ अर्बभन्दा कम पुँजी भएको कम्पनीको हकमा एक पटकमा ४० हजार कित्तासम्म खरिद गर्न सक्ने छन्। त्यस्तै दुई अर्बभन्दा बढी ५ अर्बभन्दा कम पुँजी भएका कम्पनीको हकमा एक पटकमा ३० हजार कित्तासम्म खरिद गर्न सक्ने छन्।
एक अर्बभन्दा बढी दुई अर्बभन्दा कम पुँजी भएका कम्पनीको हकमा एक पटकमा २५ हजार कित्तासम्म खरिद गर्न सक्ने छन्। स्टक डिलरको कारोबारमाथि शंका लागेमा नेप्सेले कारोबार स्थगन गर्न सक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।