काठमाडौं-इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।
सोमबार राति भएको क्वार्टरफाइनलमा एफसी कोपनहेगनलाई १-० गोलअन्तरले पराजित गर्दै युनाइटेड सेमिफाइनलमा पुग्दा इन्टरले पनि बायर लिभरकुसनलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।
युनाइटेड र कोपनहेगनले निर्धारित ९० मिनेटको समयसम्म गोलरहित बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो। खेलको ९५औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाए। बाँकी समयमा कोपनहेगनलाई रोक्दै युनाइटेड सेमिफाइनलमा पुगेको हो।
यता, अर्को खेलमा इन्टर मिलानको जितमा भने निकोलो बरिला र रोमेलु लुकाकुले गोल गरे। लिभरकुसनका लागि केइ हभर्टजले गोल फर्काए। खेलको १५औं मिनेटमा बरिलाले गोल गर्दा २१औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टर मिलानलाई २-० गोलको अग्रता दिलाए। तर २४औं मिनेटमा हभरर्टजले गोल गर्दै लिभरकुसनलाई २–१ गोलको स्थितिमा ल्याएका थिए। पहिलो हाफमा २–१ गोलले अघि रहेको इन्टर मिलानले दोस्रो हाफमा लिभरकुसनलाई रोक्दै जित निकालेको हो।
मंगलबार राति दुई क्वार्टरफाइनलका खेलहरु हुँदैछन्। जसमा शाख्तर डोनेस्कले बसेल तथा वुल्भ्सले सेभियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।