काठमाडौं- साउन दोस्रो सातादेखि लगातार घटिरहेको बजारमा आइतबारदेखि पुनः सुधार हुन थालेको छ। बजार सुधार हुने ठोस कारण नदेखिए पनि पछिल्लो समय प्राविधिक विश्लेषकहरुको विश्लेषणको पछाडि दौडिने ट्रेन्डका कारण बजार प्रभावित हुने गरेको छ।
पछिल्लो समय ११० अंकले तल झरेको बजार १३८० अंकभन्दा तल झर्ने विश्लेषण गरिएको थियो। तिनै विश्लेषकहरुले यदि यो बजार १३९० अंक क्रस गर्याे भने बजार पुनः सुधार हुन थाल्ने विश्लेषण गरेका थिए। सोहि विश्लेषणलाई आधार मानेर कारोबार सुरु भएदेखि नै अधिकांश लगानीकर्ता साेमबार (आज) सेयर उठाउने मुडमा थिए।
सुरुवाती अवस्थामा केही अलमलिएको बजारमा पछिल्लो समय खरिदकर्ताको चाप बढेको थियो। प्राविधिक विश्लेषकहरुको विश्लेषणलाई आधार मानेर लगानीकर्ताहरु सेयर खरिदतर्फ हाबी भएका थिए। प्राविधिक विश्लेषणका आधारमा अल्पकालीन लगानीकर्ता हाबी हुने भएकाले कारोबार रकम पनि प्रभावित हुने गरेको छ।
गएको साता बजार तल्लो विन्दुमा झर्दा एक अर्ब रुपैयाँको पनि कारोबार हुन सकेको थिएन। तर, बजार सुधार हुने संकेत देखिएको भन्दै खरिदकर्ता हाबी हुँदा एक अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।
सोमबार नेप्से सूचक ३७.७४ अंकले सुधार भएको छ। एकैदिन २.७१ प्रतिशतले सुधार हुँदा १४३०.४१ विन्दुमा पुगेको हो। जम्मा १८९ वटा कम्पनीको सेयर कारोबार हुँदा १४४ वटाको सेयर मूल्य बढेको छ भने २० वटाको मूल्य घटेको छ।
धेरै मूल्य बढ्नेमा आज पनि अजोड परेको छ। सबैभन्दा धेरै सिद्धार्थ लघुवित्त र दोस्रो नम्बरमा अजोड छ। म्युचुअलफण्डबाहेक सम्पूर्ण सूचक तथा उपसूचक सुधार भएको छ। सबैभन्दा धेरै हिस्सा ओगटेको बैंकिङको सूचक २.७७ प्रतिशतले बढेको छ। कोभिड १९ को प्रभावले कहिले सुधार हुने त कहिले गिरावट हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।