काठमाडौं- बार्सिलोना प्रशिक्षक क्विके सेटियनले च्याम्पियन्स लिगमा खेलमा नापोलीविरुद्ध खेलाडीको प्रयोगमा सबैलाई चकित पारे। पाँच जना खेलाडी परिवर्तन गर्न पाउने अवसरमा उनले दुई खेलाडी मात्र परिवर्तन गरे, त्यो पनि ८४औँ र ९२औँ मिनेटमा मात्र।
मिडफिल्डरहरु आर्टुरो भिडाल र सर्जियो बुस्केट्स एक खेलको प्रतिबन्धमा थिए भने केही खेलाडी चोटको समस्याले बाहिर थिए। त्यस्तोमा बार्सिलोना बी टिमका रिकि पुइच र अन्सु फातीको प्रयोग हुनेमा शंका थिएन। तर सेटियनको शैली भिन्न देखियो।
स्पेनमा सेगुन्डा बी बाट माथि चढ्ने प्ले अफ खेलमा बार्सिलोना बी टिमका लागि पुइच र फातीको आवश्यकता रहँदा पनि च्याम्पियन्स लिगकै लागि भनेर उनीहरुलाई बी टिममा पठाइएको थिएन। बी टिम माथिल्लो श्रेणीमा उक्लने अवसरबाट चुक्यो। यता पुइच र फाती बेन्चमा सीमित रहे।
चोटको समस्या आएमा बार्सिलोना टिममा कठिन हुने भन्दै सेटियनले नै पुइच र फातीलाई बी टिमको महत्वपूर्ण खेलमा नपठाएका हुन्। यदि बी टिमले पर्मोसन पाएको भए टिमका लागि १० मिलियन युरोको कमाइसँगै ठूलो टिममा पुग्न खेलाडीलाई सहज बाटो हुने थियो।
तर यो सबैमा सेटियनको योजनाले दुईतिर बार्सिलोनालाई घाटा लाग्यो। बार्सिलोनाको ला लिगामा पछिल्लो खेलमा महत्वपूर्ण भूमिका निभाएका पुइच र फातीको प्रयोग च्याम्पियन्स लिगमा आवश्यकता देखिएको पनि थियो।
सुरुवाती ११ मा अनुभवी खेलाडीको प्रयोग गरिए पनि खेलाडी परिवर्तनको राम्रो अवसर हुन नसक्नु सेटियनको फरक सोचको कारण देखियो। बी टिमबाट नै राखिएका मोन्चु भने ८४औँ मिनेटमा ग्रिजम्यानको स्थानमा प्रयोग गरिए। जुन उनको पहिलो टिमको डेब्यू थियो। बार्सिलोना बी टिमबाट अन्तिम खेल खेलेका उनको प्रयोग मिडफिल्डमा भयो। जुनियर फ्रिपो ९२औँ मिनेटमा लुइस स्वारेजको स्थानमा प्रयोग भए।
पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको अवस्थामा महत्वपूर्ण खेलाडीलाई आराम दिने र बेन्चका खेलाडीलाई अवसर दिनबाट सेटियन डराए। यतिसम्मकी पहिलो हाफको अन्तिममा चोट देखिएका मेस्सीले पनि दोस्रो हाफ पूरै खेले।
‘खेलमा भएका अवस्थाले नै हामीले त्यसरी बढ्नुपर्ने अवस्था आएको थियो। खेलमा जे भए हामीले त्यही अनुसार राम्रो निर्णय लियौँ भन्ने लाग्छ’ प्रशिक्षक सेटियनले भनेका छन्।
मिडफिल्डमा बलमाथि नियन्त्रण बनाएर खेललाई आफ्नो पकडमा राख्न सक्ने क्षमता पुइचमा राम्रो देखिन्छ। फातीको तिब्रताको प्रयोग पनि नापोलीविरुद्धको खेलमा महत्वपूर्ण हुन सक्नेथ्यो।
अब शुक्रबार राति बायर्न म्युनिकविरुद्ध हुने क्वार्टरफाइनल खेलमा अहिले प्रतिबन्धमा रहेका बुस्केट्स र भिडाल पनि फर्कनेछन्। जसले युवा खेलाडीको प्रयोगको अवसर अझ कम हुन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।