काठमाडौं- सिद्धार्थ बैंकले ब्याजदर घटेको मौका छोपेर ८.५ प्रतिशतमै तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। गएका वर्षमा बैंकहरुले १० प्रतिशतभन्दा धेरै ब्याजदरमा ऋणपत्र निष्काशन गर्दा पनि बिक्न सकेको थिएन।
बजारमा तरलता अभाव हुँदा ब्याजदर आकासिएको थियो। मुद्दती तथा साधारण निक्षेपमै १० प्रतिशतभन्दा माथि ब्याजदर पाउन भएपछि सर्वसाधारणले लामो अवधिको ऋणपत्र खरिद गरिरहेका थिएनन्।
प्रभु बैंकले यस अगाडि १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्दा पहिलो तीन दिनमा नै मागभन्दा बढी आवेदन परेको थियो। बजारमा तरलता अभाव भएपछि बैंकहरुले ऋणपत्र बिक्री गर्नका लागि महंगो ब्याजदरमा जारी गरेका थिए। ११ प्रतिशत ब्याजदरमा जारी गर्दा पनि पूर्णरुपमा बिक्री भएको थिएन।
सिद्धार्थ बैंकले ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। तीन अर्ब मध्ये एक अर्ब ८० करोड रुपैयाँ बैंक आफैंले बिक्री गर्नेछ भने बाँकी एक अर्ब २० करोड रुपैयाँ सर्वसाधारणको लागि जारी गर्नेछ। यो ब्याजदर पछि दुई तीन वर्ष यताकै कम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।