काठमाडौं- स्पेनिस क्लब एथ्लेटिको मड्रिडले आफ्नो क्लबका दुई जनामा कोरोना संक्रमण भएको जनाएको छ। बिहीबार राति च्याम्पियन्स लिग क्वार्टरफाइनलमा लाइपजिगसँग खेल्ने तयारीमा रहेको क्लबमा कोरोना देखिएको हो।
कसलाई संक्रमण भएको हो भन्ने उल्लेख नगरेपछि एथ्लेटिको मड्रिडले उनीहरु घरमा नै आइसोलेसनमा बसिरहेको जनाएको छ। संक्रमण देखिएका दुईजना मध्ये एक जना खेलाडी नै रहेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन्।
उनीहरु च्याम्पियन्स लिग क्वार्टरफाइनल खेलका लागि लिस्बोन जानुभन्दा अघि परीक्षण गरिएको हो। जसमा दुई जनामा कोरोना संक्रमण देखियो।
‘अहिलेको अवस्थाले अभ्यासमा अपनाइने तरिका परिवर्तन गर्नुपर्ने भएको छ। अब युइएफएसँगको सल्लाहमा केही नयाँ तालिका बन्छ कि भन्नेमा पनि विचार भइरहेको छ’ मड्रिडले जनाएको छ।
कोरोना भाइरसकै कारण च्याम्पियन्स लिगमा क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरु नकआउट रुपमा एक खेलको मात्र हुने तालिका बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।