काठमाडौं- एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ३८१ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले गत वर्ष १९ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको हो। अघिल्लो आर्थिक वर्षमा चार करोड रुपैयाँ थियो।
बैंक तथा वित्तीय संस्थाको महंगो ब्याजदरबाट उचित फाइदा उठाउँदै कम्पनीले नाफा बढाएको हो। कर्जा लगानी तथा अन्य आयमार्फतको आम्दानीमात्रै १० करोड रुपैयाँ छ। गत वर्ष यस्तो आम्दानी तीन करोड रुपैयाँ थियो।
व्यवसायको हिसाबले कम्पनीको चुक्ता पुँजी कम छ। चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ भएको कम्पनीको खुद बिमा शुल्क आर्जन भने ९० करोड ४४ लाख रुपैयाँ छ। गत वर्ष ८१ करोड २२ लाख रुपैयाँ छ। गत वर्षमात्रै कम्पनीले १६ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
बिमा पोलिसी बिक्री संख्याको हिसाबले अघिल्लो वर्षको भन्दा १२ प्रतिशतले घटेको छ। गत वर्ष कम्पनीले ७९ हजार ५०९ वटा पोलिसी बिक्री गरेको छ। आम्दानीमा भएको सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि चार गुणाले बढेको छ। प्रतिसेयर आम्दानी १७ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।