काठमाडौं– राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भोलि (सोमबार) गरिने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौं १ गतेबाट अभ्यास गराउनका लागि सोमबार खेलाडीको कोरोना परीक्षण गर्ने भएको हो।
एन्फाले बन्द प्रशिक्षणमा रहने, प्रशिक्षक, स्टाफ, टिमका अफिसियल, होस्टलका स्टाफ सबैको कोरोना परीक्षण गर्न लागेको हो। कोरानाबाट बच्न एन्फाले सबै सुरक्षाविधि अपनाउने बताएको छ।
सरकारले भदौं १ गतेदेखि अभ्यास गराउनु भन्दै आदेश दिएपछि विश्वकप छनोटको दोस्रो चरणअन्तर्गतको होम खेललाई लक्षित गर्दै एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो। खेलाडीले बन्द प्रशिक्षणमा बसेपछि कसैसँग भेट्न पाउने छैनन् भने बाहिर निस्किन पनि बन्देज लगाइएको छ।
खेलाडीका लागि सबै सेवा सुविधा एन्फा होस्टेलमै भएको एन्फाले जानकारी दिएको छ। नेपालले विश्वकप छनोटको दोस्रो चरणमा आफ्नै घरेलु मैदानमा तीन वटा खेल खेल्दैछ। असोज २२ मा चाइनिज ताइपेईविरुद्ध खेल्दैछ। त्यस्तै, अस्ट्रेलियासँग असोज २७ गते खेल्ने तालिका छ। दशरथ रंगशालामा नेपालले अन्तिम खेल जोर्डनसँग कात्तिक २७ गते खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।