काठमाडौं-नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर ४४ (डाइनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्रालि) लाई निलम्बन गरेको छ। कारोबार इकाईमा भएको अड लटलाई टुक्र्याई कारोबार गरेको देखिएकाले आइतबार कारोबार गर्न नपाउने गरी निलम्बित गरिएको स्टक एक्सचेन्जले जनाएको छ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ५ विपरीत काम गरेको भेटिएकाले निलम्बित गरिएको नेप्सेले जनाएको छ।
उक्त विनियमअनुसार कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी योजनाको इकाई भएमा कारोबारको इकाई (बोर्ड लट) अंकित मूल्य १० भएमा १ सय कित्ता, अंकित मूल्य १ सय भएमा १० कित्ता हुनुपर्ने प्रावधान छ। त्यस्तै ऋणपत्रका हकमा कारोबार बोर्ड लट अंकित मूल्य १ सय भएमा १० कित्ता र संस्थागत ऋणपत्रको अंकित मूल्य १ हजार भएमा १ कित्ता रहने कानुनी व्यवस्था छ। उक्त ब्रोकर कम्पनीले सामूहिक लगानीकर्ता बनाई बोर्ड लटलाई टुक्र्याई धितोपत्रको कारोबार गरेको भेटिएको हो।
त्यस्तै धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली २०५५ को विनियम ५ लाई पनि उक्त ब्रोकर कम्पनीले उल्लघंन गरेको नेप्सेले जनाएको छ। १ दिनका लागि निलम्बन गरेर आगामी दिनमा यस्तो काम नगर्न सचेत गराएको पनि नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।