काठमाडौं- च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट इटालियन क्लब युभेन्टस बाहिरिएको केही घण्टामै प्रशिक्षक मौरिजियो सारी बर्खास्तमा परे। त्यसको केही घण्टामै युभेन्टसले आफ्ना पूर्वखेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकको रुपमा नियुक्त गर्यो।
शुक्रबार राति फ्रेन्च टिम लायोनलाई युभेन्टसले २–१ गोलअन्तरले पराजित गर्यो। क्रिस्टियानो रोनाल्डोको दुबै गोलमा युभेन्टसले खेल जिते पनि च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न असफल रह्यो। समग्रमा लायोनसँग २–२ गोलको बराबरी खेले पनि अवे गोलमा युभेन्टस हार्न पुग्यो।
जितसँगै भोगेको असफलतामा प्रशिक्षक सारीको युभेन्टस यात्रा धमिलो बन्यो। टिमलाई इटालियन सिरि ए च्याम्पियन बनाएका सारी केही घण्टापछि बर्खास्तमा परे।
शनिबार राति युभेन्टसले आफ्ना पूर्वखेलाडी पिर्लोलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। युभेन्टसले ४१ वर्षीय पिर्लोलाई २०२२ को जुनसम्मको लागि अनुबन्धित गरेको हो। यो दुई वर्ष पिर्लोको लागि अग्नि परीक्षासमेत हुनेछ।
पिर्लोले युभेन्टसमा २०११ देखि २०१५ सम्म १६४ खेल खेले। उनले युभेन्टसलाई इटालियन सिरि ए फुटबल उपाधि चार पटक जिताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।