काठमाडौं-जर्मन क्लब बायर्न म्युनिक र स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन्। बायर्नले इंग्लिस क्लब चेल्सीलाई र बार्सिलोनाले इटालियन क्लब नापोलीलाई हराएका हुन्।
शनिबार राति अन्तिम १६ को दोस्रो लेग खेल्नुअघि नै बायर्न चेल्सीविरुद्ध पहिलो लेगको ३-० को बलियो अग्रतामा थियो। दोस्रो लेगको खेल ४–१ हुँदा बायर्नले समग्रमा ७–१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
बायर्नको जितमा लेवान्डोस्कीले दुई गोल गरे। पेरेसिक र टोलिसोले एक–एक गोल गरे। चेल्सीका लागि अब्राहमले एकमात्र गोल गरे। बायर्नले अब क्वार्टरफाइनलमा बार्सिलोनासँग खेल्नेछ।
शनिबार राति नै भएको खेलमा बार्सिलोनाले नापोलीलाई ३–१ ले हराएको हो। पहिलो लेगको खेल १–१ को बराबरीमा सकिँदा दोस्रो लेग रोचक बनेको थियो। बार्सिलोनाले घरेलु मैदानमा खेलको १०औँ मिनेटमा नै लेङलेटको गोलमार्फत् अग्रता बनाएको थियो।
सबै गोल पहिलो हाफमा भएको खेलमा २३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले उत्कृष्ट गोलमार्फत् अग्रता दोहोरो पारे। पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लागि पेनाल्टीमार्फत् स्वारेजले गोल गरे। त्यसको लगत्तै नापोलीले पाएको पेनाल्टीमा इन्सिगले गोल गरे। ्
शनिबार रातिको खेलसँगै च्याम्पियन्स लिग क्वार्टरफाइनलको समीकरण पूरा भएको छ। जसमा एटलान्टा र पिएसजी, लिपजिग र एथ्लेटिको मड्रिड, बार्सिलोना र बायर्न म्युनिक साथै म्यानचेस्टर सिटी र लायोन खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।