काठमाडौं- टाटा मोटर्सका व्यवसायिक गाडी बिक्री वितरणका लागि सिप्रदी ट्रेडिङको आधिकारिक डिलर शशीला मोटर्सले गाडी खरिदका लागि अनलाइन सुविधा दिने भएको छ। मोटर्सले कोभिड १९ का कारण विशेष सावधानी अपनाउनुपर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सेवा सुरु गरेको हो।
यससँगै अब उपभोक्ताले टाटाका व्यवसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन्। मोटर्सले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो। यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद विक्री गर्ने गरेको भए पनि व्यवसायिक गाडीहरुमा यस्तो सुविधा थिएन।
वेबसाइट सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद बिक्री गर्न यो भर्चुअल सोरूम नेपालको डिजिटल क्षेत्रमा कोसेढुंगा सावित हुने बताए। त्यस्तै शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने उल्लेख गरे। अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ।
वेबसाइटमार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन्। यो सेवाअन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ व्यवसायिक गाडीहरु अनलाइनमै बुकिङ गरी खरिद गर्न सकिनेछ। जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधाबाहेक पुराना गाडीसमेत खरिद बिक्री गर्न पाउनेछन्।
आफूसँग भएका पुराना व्यवसायिक गाडी बिक्री गर्न चाहने बिक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेबसाइटमा अपलोड गर्न सक्नेछन्। शशीला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने बिक्रेताबीच समन्वय गरिदिनेछ भने आफैंले पनि पुराना गाडी किन्नेछ।
क्रेताले बिक्रेतासँग भएको गाडी प्रत्यक्ष हेर्न चाहेको अवस्थामा समेत कम्पनीले त्यसको व्यवस्था मिलाइदिने छ। जसले गर्दा पुराना गाडी किन्न वा बेच्न चाहनेले अन्यत्र कतै भौंतारिनु पर्ने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।