काठमाडौं- टाटा ब्रान्डका कार एनआईसी एसिया बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत् खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने भएको छ। बैंक र नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङबीच सोसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो। उक्त समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा टाटाका भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले हस्ताक्षर गरेका छन्।
टाटाका कार बिक्री गर्दा सिप्रदीले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिप्रदीका उपभोक्तालाई सवारी कर्जामा ४ देखि ६ महिनासम्म किस्ता तिर्नु नपर्ने सहुलियत प्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ। तर बैंकको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत् सिप्रदीद्वारा बिक्री गरिने टाटा ब्राण्डका कार नै किन्नुपर्ने सम्झौतामा उल्लेख छ।
बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका लाग्ने बैंकले जनाएको छ। तर यस्तो सहुलियत भने निजी सवारी साधनका लागि मात्र लागू हुने बताइएको छ।
बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत् ग्राहक महानुभावहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको दाबी गरेको छ। चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ। बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र सिप्रदीबीच भएको छ।
सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ। बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने बताइएको छ। एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ।
बैंकले देशभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०२ वटा एक्स्टेन्सन काउन्टर र ६४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।