काठमाडौं- सरकारले तोकेकोभन्दा कम मूल्यमा कोरोना परीक्षण गरिरहेको ‘विध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुविधा दिएको छ। यससँगै अब विध ल्याबका सेवाग्राहीले इसेवा वा खल्तीबाट पैसा भुक्तान गर्न सक्नेछन्।
‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिने गरी व्यवस्था गरेका हौं,’ विध ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि इसेवा र खल्तीसँग सहकार्य गरिएको छ। जसबाट रकम भुक्तानी गर्दा सेवाग्राहीले थप २ सय रूपैया क्यास ब्याक पाउनेछन।’
पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए। विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन्।
कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘विध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात् ४ हजार रूपैयाँमा कोरोना परीक्षण गरिरहेको छ। अब अनलाइनबाट रकम भुक्तानी गर्दा ३८ सय रुपैयाँमा नै परीक्षण गर्न पाउनेछन् भने स्वाबसमेत विध ल्याबले संकलन गरेका ४३ सय रुपैयाँ पुग्नेछ।
ल्याबले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको जनाएको छ। ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौं,’ भण्डारी भन्छन्। यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड परीक्षण गर्ने क्षमता राख्छ। विध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ। विध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।